मतगणना सुस्त, १४ वटा वडा गन्दा एमाले अगाडि

नेपालगञ्ज – बाँकेमा मत गणना अति नै सुस्त भएको छ ।

नेपालगञ्जको भेरी प्राविधिक शिक्षालयमा भइरहेको नेपालगञ्ज उपमहानगरपालिकाको गणना अझ अस्तव्यस्त रहेको छ । एउटा वडाको तीन हजार मत गन्नका लागि दुई दिन लगाइएको छ ।

निर्वाचन गन्न ढिला गरेको निर्वाचन मण्डलले समयमा सूचनासमेत दिन सकेको छैन । सबैको चर्को दबाबपछि माइकको सम्म व्यवस्थापन गरेको नेपालगञ्जमा आवाज नै बुझिदैन । पत्रकारलाई समेत समयमा नतिजा दिने गरिएको छैन ।

कम्प्यूटरमा अनुभव नभएका व्यक्तिलाई राख्दा सूचना दिन ढिलाई भइरहेको छ । प्रमुख निर्वाचन अधिकृत षडानन्द तिवारीले विहान कर्मचारी थपेर मत गणनाको रफ्तार बढाउने बताएपनि दु्रतगतिमा गणना हुन सकेको छैन ।

भेरी प्राविधिक शिक्षालयको बाहिर ठूलो भीड लागेको छ । भीडले समयमा सूचना पाइरहेको छैन । भित्रबाट आएका एजेन्टले ल्याएको सूचनामा रमाइरहेका छन् । भित्र तीन ठाउँमा गणना भइरहेको छ । त्यहीबाट पनि सूचना लिन गाह्रो भएको छ ।

नेपालगञ्जमा मात्रै होइन, अन्य पालिकाको गणनामा पनि ढिलाई भइरहेको छ । अन्य पालिकाले सूचना भने समयमै दिइरहेका छन् । नरैनापुर र बैजनाथमा विवादका कारण रोकिएको गणना सुचारु भएको छ । नरैनापुरमा कर्मचारीले बदमासी गरेको आरोप लागेपछि प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री आफै त्यहाँ पुगेर सहमति गराउनु भएको छ ।

यसैबीच, बाँकेका ८१ वडामध्ये १४ वटाको नतिजा आएको छ । त्यसमा एमालेले पाँच वटा, कांग्रेसले चार, जसपा र माओवादी केन्द्रले दुई÷दुई र राप्रपाले एउटा वडा जितेको छ । एमालेबाट नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं. १ मा प्रमोद रिजाल, राप्तीसोनारी गाउँपालिकाको वडा नं. १ मा यामबहादुर खड्का, २ नम्बरमा ज्ञानु वली, ३ नम्बरमा मिनबहादुर थारु र बैजनाथ गाउँपालिकाको वडा नं. १ मा रुपबहादुर मल्लले जितेका छन् ।

कांग्रेसबाट नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं. २३ मा जब्बर अलि बेहना, खजुरा गाउँपालिका वडा नं. १ मा मनबीर खत्री, कोहलपुर नगरपालिका वडा नं. १५ मा दिपेन्द्रकुमार थारु, डुडुवा गाउँपालिका वडा नं. १ मा पटेश्वर कुर्मीले जितेका छन् । जसपाबाट नेपालगञ्जको वडा नं. २२ मा अब्दुल गफ्फार हलवाई र जानकी गाउँपालिका वडा नं. १ मा मो. रज्जा राईले जितेका छन् । कोहलपुर नगरपालिका वडा नं. १ मा माओवादी केन्द्रका बद्रीप्रसाद न्यौपाने, खजुरा गाउँपालिका वडा नं. २ मा माओवादी केन्द्रका धमीराम वली र नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ मा राप्रपाका मनोज श्रेष्ठले जितेका छन् ।

नेपालगञ्जमा गठबन्धनबाट कांग्रेसका मेयर प्रशान्त विष्टले अग्रता फराकिलो बनाउदै लगेका छन् । राप्तीसोनारी र खजुरामा एमाले, जानकी, डुडुवा, नरैनापुर, कोहलपुर र बैजनाथमा कांग्रेस, एमाले र जसपाका बीचमा अघि र पछि भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !