पशुपतिले उठाए लामखुट्टे नियन्त्रणको मुद्दा

नेपालगञ्ज – नेपालगञ्ज अत्याधिक गर्मी हुने शहर हो । यहाँ गर्मीसंँगै लामखुट्टे बिगबिगी रहेको छ । यो मुद्दा अहिलेसम्म चुनावी मुद्दा बन्ने गरेको छैन । यद्यपी, नेपालगञ्जबासीका लागि ठूलो समस्याको रुपमा रहेको छ ।

लामखुट्टेका कारणले डेंगु, मलेरिया, चिकुनगुनिया, जापानीज इन्सेफ्लाइटिस जस्ता रोग लाग्ने गरेको छ । नेपालगञ्जवासीका लागि यी रोगहरु जनस्वास्थ्य समस्या हुन् । यति ठूलो जनस्वास्थ्य समस्या निम्त्याउने लामखुट्टे नियन्त्रणका बारेमा अरु उम्मेदवारले मुद्दा बनाउने गरेका छैनन् ।
नेकपा एमालेका उम्मेदवार पशुपतिदलाय मिश्रले लामखुट्टे नियन्त्रणको मुद्दालाई उठाएका छन् । मिश्रले लामखुट्टे नियन्त्रण गर्ने र त्यसबाट निम्तिएको जनस्वास्थ्य समस्यालाई नियन्त्रण गर्ने रणनीति अघि सारेका छन् ।

लामखुट्टे नियन्त्रण गर्नका लागि सरसफाई अपरिहार्य हुन्छ । नेपालगञ्जलाई सफा शहर बनाउन सक्दा केही हदसम्म लामखुट्टे नियन्त्रण गर्न सकिन्छ । सफा शहरको योजना मिश्रले अगाडि सारेका छन् ।

मिश्रले भन्नुभयो, ‘इच्छाशक्ति चाहिन्छ यो काम गर्न । हामीसंँग त्यो इच्छाशक्ति छ । ढुक्क हुनुहोस् हामी त्यो काम गर्छौ ।’
कुनै उम्मेदवारले नउठाएको मुद्दा उठाएपछि मिश्र चर्चामा आएका छन् । ठूल्ठूला मुद्दालाई उठाएर तछाडमछाड गरिरहेका उम्मेदवारले ओझेलमा परेको यो ठूलो समस्यालाई अगाडि सार्नुपर्नेमा स्थानीयको जोड रहेको छ ।

भौतिक पूर्वाधारदेखि शिक्षा, स्वास्थ्यका मुद्दालाई समेट्ने गरिएको छ । अहिले चुनावी माहोल चलिरहदा नेपालगञ्जको तापक्रम ४० डिग्रीको आसपासमा छ । गर्मी अनि लामखुट्टे नेपालगञ्जको परिचयजस्तै बनिरहेको छ । त्यसमा फोहोरी शहर अर्को उपमा जोडिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !