माओवादीलाई नेपालगञ्ज, कोहलपुर र राप्तीसोनारीमा उपाध्यक्ष !
नेपालगञ्ज – सरकारमा सामेल दलका बीचमा जिल्लास्तरमा गठबन्धनको सहमति नभएपछि पालिकास्तरमा आवश्यकताको आधारमा गठबन्धन गरेर जाने सहमति भएको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी एकीकृत र जनमोर्चाका बीचमा जिल्लास्तरमा सहमति हुन नसकेपछि तल्लो कमिटिलाई अधिकार दिइएको हो । सरकारमा सामेल जनता समाजवादी पार्टी (जसपा) शुरुवाती बैठकबाटै गठबन्धन नगर्ने गरी अघि बढेको छ ।
कांग्रेसले माओवादीलाई खजुरा गाउँपालिका दिन तयार नै छ । माओवादीले खजुराका साथै नेपालगञ्ज, कोहलपुर र राप्तीसोनारीमध्ये एक मागेपछि कुरा नमिलेको हो । कांग्रेसले यी पालिकामा माओवादीलाई उपाध्यक्ष दिन तयार रहेको छ ।
केन्द्रीय सर्कुलरमा २०७४ सालमा जितेको पालिका त्यही पार्टीलाई दिने र अन्य पार्टीले जितेको ठाउँमा मतभारका आधारमा निकटतमलाई दिने थियो । यस अनुसार बाँकेमा कुरा मिल्न सकेन । पालिकास्तरमा गठबन्धन गर्न सक्ने गरी अघि बढेको कांग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरीले जानकारी दिनुभयो । कांग्रेसले आफूले जितेको राप्तीसोनारीमा समेत माओवादीलाई उपाध्यक्ष दिन लचक भएको छ । माओवादीको जोड कोहलपुर नगरपालिका रहेको छ ।
संयुक्त बैठक बस्न छोडेका दलहरुले आ–आफ्नो पार्टीमा कसरी जाने भन्ने विषयमा छलफल गरिरहेका छन् ।
माओवादी केन्द्रका नेता नविन शर्माले अझै पनि गठबन्धन गरेर जान विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।