मत गन्न शुरु, कसले मार्ला बाजी ?

नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनको मत गणना शुरु गरिएको छ ।
भेरी प्राविधिक शिक्षालयमै मत गणना थालिएको हो । चुनाव पनि त्यही भएको थियो । शुरुमा सदस्यको मत गणना थालिएको छ । सदस्यको मत गन्न १२ ठाउँ बनाइएको छ । सदस्यको सकिएपछि अध्यक्ष र उपाध्यक्षको मत गणना गर्ने रणनीति बनाइएको छ ।
संघमा तीन हजार ५० मतदाता थिए । त्यसमध्येमा दुई हजार सात सय ९० जनाले अध्यक्ष, उपाध्यक्ष र सदस्यलाई मतदान गरेका छन् । एक सय चार जनाले एशोसियसन र २५ जनाले बस्तुगतमा मत हालेका छन् ।
मत गणनासँगै अबको नेतृत्व कसले गर्ला ? दुई जना उपाध्यक्ष र सदस्यहरुमा कुन कुन अनुहार आउलान् आ–आफ्ना विश्लेषण भइरहेका छन् । अध्यक्षका दुवै जना उम्मेदवारले राम्रो भएको र जित्ने प्रतिक्रिया दिइरहेका छन् । रातीसम्ममा एकजनाको बोली मिल्नेछ । समावेशीबाट अब्दुल वाहिद मन्सुरी र साझा लोकतान्त्रिक उद्योगी व्यवसायी समूहबाट ललित रौनियार अध्यक्षका उम्मेदवार रहेका छन् । संघको चुनावमा यी दुई जनाको नेतृत्वमा रहेको प्यानलले प्रतिस्पर्धा गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !