हरियाणालाई पीएम कपको उपाधि

नेपालगञ्ज – आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि भारतको हरियाणा स्पोर्टस् क्लबले जितेको छ ।

नेपालगञ्ज रंगशालास्थित कभर्डहलमा सञ्चालित प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लवलाई सोझो सेटमा पराजित गर्दै हरियाणाले उपाधि जितेको हो ।

हरियाणाले पहिलो सेट २६–२४ अंकले जितेको थियो । हरियाणाको २४ अंक हुँदा १८ अंकमा रहेको पुलिसले लगातार ६ अंक जोडेपनि जीत निकाल्न सकेन ।

दोस्रो सेट २४–२१ ले हरियाणाले आफ्नो पक्षमा पा¥यो । यो सेटमा पुलिसले शुरुवाती अग्रता लिएपनि जोगाउन सकेन । तेस्रो सेट २५–२३ ले हरियाणाले जित्यो ।

लिग चरणको खेलमा पनि हरियाणाले प्रहरीलाई ३–२ सेटमा पराजित गरेको थियो । पुलिसले लगातार दुई सेट जितेपनि हरियाणाले पुनरागमन गर्दै पछिल्लो तीन सेट जितेको थियो ।

उपाधिसँगै हरियाणाले ५ लाख रुपैया प्राप्त गरेको छ । दोस्रो भएको पुलिसले दुई लाख ५० हजार रुपैया पाएको छ ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लव तेस्रो भएको छ । तेस्रो स्थानका लागि भएको खेलमा आर्मीले सोझो सेटमा न्यू डायमण्डलाई पराजित गरेको हो । आर्मीले न्यू डायमण्डलाई लिग चरणमा पनि पराजित गरेको थियो ।

तेस्रो भएको आर्मीले एक लाख रुपैया र चौथो भएको न्यू डायमण्डले ५० हजार रुपैया पुरस्कार पाएको छ ।
चैत्र १० गतेदेखि शुरु भएको पीएम कपमा नेपालका चार र भारतका दुई टीमले भाग लिएका थिए ।

प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !