देशभरका सामुदायिक रेडियोकर्मी नेपालगञ्जमा
नेपालगञ्ज – सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको १६ औं वार्षिक साधारण सभा एवं सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन नेपालगञ्जमा हुँदैछ ।
चैत्र ९ र १० गते हुने सम्मेलनमा देशभरका ३ सय ६० वटा रेडियोमा आवद्ध रेडियोकर्मी सहभागी हुँदैछन् ।
अकोराबका अध्यक्ष अर्जुन गिरीका अनुसार, सम्मेलनमा सामुदायिक रेडियोले हासिल गरेका उपलब्धी एवं यस क्षेत्रका चुनौतीका साथै सामुदायिक रेडियोको अबको बाटो विषयमा छलफल हुनेछ । सम्मेलनमा सामुदायिक रेडियोमा महिला, आदिवासी, जनजाती, मधेसी, मुस्लिम तथा अल्पसंख्यक, पिछडिएका वर्गको रेडियोमा स्वामित्व र सहभागिता अभिबृद्धि तथा भाषाभाषीको संरक्षण र प्रवद्र्धनमा सामुदायिक रेडियोको भूमिका, विपद तथा महामारीलगायतका नयाँ चुनौतीको सामना गर्न सक्ने समुदाय निर्माणमा सामुदायिक रेडियोको भूमिका, सामुदायिक रेडियोले आफ्नो प्रसारणमा प्राथमिकता दिनुपर्ने क्षेत्रहरु, दीगो विकासका साथै नेपाली समाजमा विद्यमान विभिन्न करिती तथा परम्परागत हानिकारक अभ्यासको अन्त्यको लागि सामुदायिक रेडियोको बुझाई र धार्मिक गुरुहरुको योगदान र भूमिकाको विषयमा सम्वाद गरिनेछ ।
७७ वटै जिल्लामा सामुदायिक रेडियो सञ्चालनमा रहेका छन् । वि.सं. २०५७ चैत्र ९ गते अकोराबको स्थापना गरिएको थियो ।