बैंकको पैसा मिटर ब्याजमा नजाओस्

नेपालगञ्ज – नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक मुक्तिनाथ सापकोटाले बैंकको पैसा मिटर ब्याजमा जान नदिन सचेत गराउनु भएको छ ।
राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको ५५ औं वार्षिकोत्सव समारोहमा बोल्दै निर्देशक सापकोटाले भन्नुभयो, ‘कर्जा लिने मान्छे मिटर ब्याजमा जोडिएको छ कि छैन राम्ररी हेर्नुस् । बैंकको पैसा मिटर ब्याजमा जान दिनु हुँदैन ।’
निर्देशक सापकोटाले जोखिमका विभिन्न कारणहरुमा मिटर ब्याजलाई पनि जोड्दै बैंकबाट कर्जा लिएर मिटर ब्याजमा लगाउने गरेको पाइएकाले त्यसमा बैंकहरु सचेत हुनु पर्ने बताउनु भयो । चेकको दुरुपयोग गर्नेलाई कालोसूचीमा राख्न निर्देशन दिनुभयो । उहाँले उत्पादनमुलक क्षेत्रमा कर्जा प्रवाह गर्न जोड दिदै महिला उद्यमी, साना उद्यम, विदेशबाट फर्किएकालाई कर्जामा प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।


निर्देशक सापकोटाले बैंकले सेवा सुविधा दिने क्रममा आउने गुनासोलाई प्राथमिकता साथ सुनेर सुधार्दै अगाडि बढ्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ग्राहकको गुनासोलाई ध्यान दिनुस् । ग्राहकमैत्री बन्नुस् ।’
राष्ट्रिय बाणिज्य बैंक लिमिटेड २०५६ देखि ०६६ सम्म तनावपूर्ण अवस्थामा रहेर सुधारिदै अगाडि बढेको स्मरण गराउदै सापकोटाले सरकारी हो भनेर कर्मचारीले लापरबाही गर्न नहुने बताउनुभयो ।
राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको ७७ वटै जिल्लामा शाखा रहेका छन् । दुई सय अर्बको निक्षेप रहेको बैंकको एक लाख ३८ हजार ऋणी छन् । ५ नम्बर प्रदेशमा ३५ वटा शाखा रहेका छन् । देशभरमा २ स य ३८ वटा शाखा छन् ।
राष्ट्रिय बाणिज्य बैंक लिमिटेड ५ नम्बर प्रादेशिक कार्यालय, नेपालगञ्जले विभिन्न कार्यक्रम गरेर वार्षिकोत्सव मनाइरहेको छ । वार्षिकोत्सव समारोहमा नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, कृषि विकास बैंकका ५ नम्बर प्रादेशिक प्रमुख गिरिधारी पौडेल, गोविन्द रेग्मी, सुरेन्द्र श्रेष्ठ, बुद्धप्रकाश रेग्मी, सुनिलकुमार राई, नारायण पंगेनीले नाफामुखीमात्रै नभएर बैंक सेवामुखी पनि हुन आग्रह गर्नुभयो ।
बैंकका प्रादेशिक प्रमुख आनन्द सुवेदीले लक्षित वर्गलाई समेटेर बैंकले काम गरिरहेको बताउनुभयो । नेपालगञ्ज शाखाले उद्योगी व्यापारी, खजुराले कृषि, भुरीगाउँले कृषि र पर्यटनलाई लक्षित गरेर काम गरिरहेको जानकारी दिनुभयो ।
बैंक नेपालगञ्ज शाखाका प्रमुख विनोद पाण्डेले ग्राहकमुखी र उत्कृष्ट बन्ने प्रतिबद्धता गर्नुभयो । बैंकले साता व्यापी रुपमा वार्षिकोत्सव मनाएको छ । रक्तदान, प्रभातफेरि गरिसकेको छ ।


error: यो सुविधा उपलब्ध छैन !