नरैनापुर औलोको पनि उच्च जोखिममा

नेपालगञ्ज – बाँकेको नरैनापुर गाउँपालिका औलो रोगको उच्च जोखिममा रहेको पाइएको छ । जिल्लामा पछिल्लो समयमा देखिएका ८९ प्रतिशत विरामी नरैनापुर गाउँपालिकाका रहेका छन् ।
स्वास्थ्य कार्यालय, बाँकेका भेक्टर कन्ट्रोल फोकलपर्सन दुर्गा गौतमका अनुसार, चालु आर्थिक वर्षको डिसेम्बर एक तारिखसम्म बाँकेमा ४५ जना औलोका विरामी फेला परेका छन् । तीमध्ये ४० जना नरैनापुर गाउँपालिकाका रहेका छन् । खजुरा गाउँपालिकाका दुई, नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र कोहलपुर नगरपालिकाका एक÷एक जना रहेका छन् ।
गर्मी बढी हुने, लामखुट्टे धेरै पाइने र सीमावर्ती जिल्ला भएकाले बाँके औलोको उच्च जोखिममा रहेको छ । जिल्लाको पनि नरैनापुर अझ जोखिममा रहेको स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले बताउनुभयो ।
बाँकेको नरैनापुर जिल्लाको पिछडिएको क्षेत्रमा पर्छ । विकासमा परेकाले नरैनापुरलाई जिल्लाको ‘कर्णाली’ भन्ने गरिन्छ । नरैनापुर भौतिक पूर्वाधारदेखि स्वास्थ्य र शिक्षामा पछाडी परेको छ । पहिलो चरणको कोरोनाकालमा नरैनापुरमा हटस्पट बनेको थियो । जिल्लाको दक्षिणपूर्वमा पर्ने नरैनापुर भारतीयसँग सीमासँग जोडिएको छ ।
बाँकेको नरैनापुरसँग जोडिएको राप्तीसोनारीको बैजापुर र विनौनामा सात वर्षअघि औलोबाट ३३ जनाको मृत्यु भएको थियो । जिल्लामा औलोका विरामी प्रत्येक वर्ष देखिने गर्दछ । सोमबारमात्रै मनिकापुरका १२ वर्षीय बालकलाई औला देखा परेको छ । उनलाई स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि भेरी अस्पतालमा ल्याइएको छ ।
बाँकेमा भारतबाट आएका व्यक्तिमा औलो देखिने गर्दछ । जिल्लामै विरामी बढ्दो छ । औलो रोकथामका लागि प्रत्येक वर्ष बाँकेमा कार्यक्रम हुने गर्दछ ।
नेपाललाई सन् २०२५ सम्ममा औलो मुक्त घोषणा गरिदैछ । औलो नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमहरु भइरहेपनि प्रभावकारी हुन सकेको छैन । विरामी देखिएमा त्यसको दुई किलोमिटरसम्म सर्भिलेन्स गर्ने, १४ दिनभित्र ज्वरो आएका व्यक्तिलाई जाँच गर्नेलगायतका कार्यहरु हुँदै आएको छ ।
लामखुट्टेबाट औलो सर्ने गर्दछ । बाँकेमा गर्मी बढी हुने भएकाले यहाँ लामखुट्टे धेरै पाइन्छ । त्यसका साथै भारतबाट आएका व्यक्तिले औलो लिएर आउँछन् । नेपालगञ्ज नाकामा भारतबाट आएका व्यक्तिलाई औलो जाँच गर्ने गरिन्छ । औलो नियन्त्रणका लागि सरसफाई गर्ने, लामखुट्टेबाट बच्नु पर्दछ । औलो नियन्त्रण कार्यक्रमअन्तर्गत बाँकेका विभिन्न ठाउँमा बेलाबेलामा गर्भवती महिलालाई लक्षित गरेर झुल वितरण गर्ने गरिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !