नरैनापुरमा स्कूल बस सञ्चालन
नेपालगञ्ज – बाँकेको नरैनापुर गाउँपालिकाले स्कुल बस सञ्चालन गरेको छ ।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय ल्याउन लैजान स्कुल बस सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
शिक्षामा पछाडी परेको नरैनापुरमा विद्यार्थीलाई स्कूलप्रति आकर्षित गर्न विभिन्न रणनीति बनाउने क्रममा स्कूल बस पनि सञ्चालनमा ल्याएको हो ।
बाँके क्षेत्र नम्बर १ का संघीय सांसद् महेश्वर गहतराजले शुक्रबार स्कूल बसको उद्घाटन गर्दै स्कुल बस सञ्चालनपछि विद्यार्थीलाई जान आउन सहज हुने बताउनुभयो ।
सांसद् गहतराजले आफ्ना बालबालिकालाई नियमितरुपमा विद्यालय पठाउन अभिभावकहरुलाई आग्रह गर्दै नरैनापुरको शैक्षिक विकासका लागि आफू लागिरहेको विश्वास दिलाउनुभयो ।
गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद शाहले विकासका लागि शिक्षा अपरिहार्य भएकाले शिक्षामा सुधार गर्न आफू लागि परेको बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले शिक्षा गाउँपालिकाको पहिलो प्राथमिकतामा रहेको बताउनुभयो ।
गाउँपालिकाको अध्यक्ष निर्वाचन भएर आएपछि शाहले शैक्षिक विकासलाई प्राथमिकता दिदै काम गरिरहनु भएको छ । गाउँपालिकामा दुई वटा मात्रै मावि छन् । टाढाका ती माविमा जान अब बालबालिकालाई सहज हुने भएको छ ।