२९४ कैदी-बालबन्दी सम्पर्कविहीन

नेपालगन्ज – सरकारले जेनजी विद्रोहका क्रममा भागेका बालबन्दीलाई आजसम्म फर्किने म्याद दिएको छ । आजसम्म फर्किनेलाई अर्को मुद्दा नलाग्ने भनिएको छ ।
बाँकेका दुई बालसुधार गृह र एउटा कारागारबाट २ सय ९४ जना कैदी र बालबन्दी फरार रहेका छन् । आजसम्ममा नफर्किने कैदी र बालबन्दीलाई समातेर अर्को मुद्दा पनि लगाउने तयारी गरिएको छ ।
जिल्लामा नौबस्ता र डुडुवामा गरी दुई वटा बालसुधार गृह छन् । जेनजी विद्रोहका क्रममा भदौं २४ गते नौबस्ता बालसुधार गृहबाट ७९ जना भागेकोमा २९ जना सम्पर्कमा आएका छन् । ५० जना अझै फरार रहेका छन् । त्यो दिन नौबस्तामा बालबन्दी र त्यही परिसरमा रहेका कारागारबाट कैदी भाग्ने क्रममा प्रहरीले गोली चलाउदा ५ जनाको मृत्यु भएको थियो । त्यहाँको कारागारबाट एक सय ५० जना कैदी भागेकोमा ३२ जना सम्पर्कमा आएका छन् । अरु १ सय १८ जना फरार नै रहेका छन् । बाँके प्रहरीले नौबस्ता कारागारबाट भागेका नेपालगन्जका हरकेश खटिकलाई शनिबार र खजुरा सिमलघारीका मनोज चँदरालाई आइतबार समातेर कारागार पठाएको छ ।
डुडुवाको जयेन्दु बालसुधार गृहबाट एक सय १५ जना भागेकोमा ३९ जना सम्पर्कमा आएका छन् भने ७६ जना अझै फरार रहेका छन् । कार्यालय प्रमुख किशोर शर्माले असोज २० गतेसम्म सम्पर्कमा आउनेलाई अर्को मुद्दा नचलाउने भनिएको र त्यो दिन आज भएकाले साँझसम्म केही फर्किन सक्ने आशा गरे ।
संसद विघटन हुँदा ऐन अलपत्र
नेपालमा ९ वटा बालसुधार गृह छन् । त्यसमा चौध सय हाराहारीमा बालबन्दी रहेका छन् । भक्तपुरमा केटा र केटीलाई राख्ने भएकाले त्यहाँ धेरै बालबन्दी छन् ।
विराटनगर र बाँकेका दुई वटा बालसुधार गृहमा धेरै संख्याका बालबन्दी छन् । बाँकेमा डुडुवाको जयेन्दु र नौबस्ता कारागार परिसरमा बालसुधार गृह रहेको छ । पर्सा, मकवानपुर, डोटी, रुपन्देही, कास्कीमा पनि बालसुधार गृह रहेका छन् ।
बालसुधार गृहहरुमा प्रायः विवाद र झडप भइरहन्छन् । १८ वर्षमुनिका बालबालिकाले अपराधिक कर्म गरेपछि उनीहरुलाई बालसुधार गृहमा पठाउने गरिन्छ । नेपालका बालसुधार गृहमा १८ वर्षमाथिका धेरै बालबन्दी रहेका छन् । जुन बालसुधार गृहमा बबाल र झडप हुन्छ, त्यहाँ त्यो गर्ने १८ वर्षमाथिका बालबन्दी रहेको अध्ययनहरुले देखाएको छ ।
बालसुधार गृह प्रशासनले १८ वर्षमाथिका बालबन्दीलाई कारागार पठाउने गरी ऐन ल्याउने तयारी गरेको थियो । संसदबाट केही दिनमै पारित हुने भनिएको उक्त ऐन जेनजी विद्रोहले संसद नै विघटन गरेपछि अन्यौलमा परेको छ । उक्त ऐन पारित भएको भए कारागार प्रशासकलाई बालसुधार गृहमा हुने झडपबाट मुक्ति मिल्ने आशा गरिएको थियो । जयेन्दु बालसुधार गृहका कार्यालय प्रमुख किशोर शर्माले १८ वर्षमाथिका बालबन्दीलाई कारागारमा पठाउनेलगायतका व्यवस्था राखेर ऐन बनेको र त्यो संसदमा लैजाने तयारी भइरहेको बेलामा संसद विघटन भएको बताए । उनले जति पनि बबाल र झडप हुन्छन्, त्यो सबै १८ वर्षमाथिकाले गर्ने भएकाले १८ वर्षमाथिकालाई कारागारमा पठाउने व्यवस्था हुने वित्तिकै बालसुधार गृह शान्त हुने बताए । बालसुधार गृहका प्रमुखले प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने र प्रमुख जिल्ला अधिकारीले अध्ययन गरेर १८ वर्षमाथिकालाई कारागार पठाउने गरी ऐन बन्दै थियो ।
आवेग, रिस र झोकमा अपराध गर्न पुगेका बालबालिकालाई सुधार गर्न बालसुधार गृहमा राख्ने गरिन्छ । तर, त्यहाँ नै उनीहरुले उत्श्रृंखलता देखाउने गर्दछन् । यस्तो गर्नेमा सबै हुँदैनन् । उमेर बढी भएकाहरु मात्र हुन्छन् ।
बाँकेको नौबस्तामा सबै १८ वर्षमाथिका बालबन्दी राखिएको छ । जयेन्दुमा रहदा पटक–पटक झडपमा उत्रिएकालाई त्यहाँ राखिएको छ । जयेन्दुमा पनि १८ वर्षमाथिका अझै छन् । जेनजी विद्रोहका बेला भागेका सबैजसो १८ वर्षमाथिकै छन् ।
जयेन्दुका कार्यालय प्रमुख शर्माले बालसुधार गृहमा झगडा, झडप हुन नदिने हो भने सरकारले ऐन, कार्यविधि, निर्देशिका जे बनाएर भएपनि १८ वर्षमाथिकालाई कारागार पठाउनु पर्ने बताए । बालसुधार गृहमा जबरजस्ती करणी, कर्तब्य ज्यान र लागु औषध मुद्दाका धेरै बालबन्दी छन् । यहाँ बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुर जिल्लाका बढी बालबन्दी छन् । बाँके भारतीय सीमावर्ती जिल्ला भएकाले यहाँबाट भागेका बालबन्दी भारत जाने संभावना बढी रहन्छ । भारत पुगेकाहरु फर्किने चान्स कम हुन्छ ।











