यु–१४ छात्र फुटबलमा इन्टिग्रेटेडको विजयी सुरुआत


नेपालगन्ज – खजुरा सैनिकको इन्टिग्रेटेड एकेडेमीले बाँके जिल्ला स्तरीय यु–१४ छात्र/छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
नेपालगन्ज रंगशालामा भएको छात्र तर्फको खेलमा इन्टिग्रेटेड एकेडेमीले नेपालगन्जको वेस्टजोन माविलाई ४–० ले पराजित गरेको छ । खेलमा कप्तान निशान थापाले २ गोल, समर गुरुङ र निश्चल सुवालले १–१ गोल गरे ।
कप्तान निशानले २१औं र २४औं मिनेटमा गोल गरेका थिए भने समरले ५ मिनेट र निश्चलले २०औं मिनेटमा गोल गरेर आफ्नो टिमलाई सहज जित दिलाए ।
यसैगरी छात्रतर्फको अर्काे खेलमा नेपालगन्ज मोडेल एकेडेमी र सिद्धार्थ विद्या सदन बिचको खेल प्राविधिक कारणले पहिलो हाफ सकिएपछि रोकिएकाे छ । पहिलो हाफमा सिद्धार्थले १–० ले अग्रता लिएको छ ।
सिद्धार्थ र नेपालगन्ज मोडेल एकेडेमीबिचको दोस्रो हाफ आइतबार खेलाउने आयोजकले जनाएको छ ।
बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा छात्रतर्फ बाँकेका १७ विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेता टिमले लुम्बिनी प्रदेश स्तरीय एन्फा यु–१४ फुटबल प्रतियोगितामा बाँकेको प्रतिनिधित्व गर्नेछ ।
शनिबार एक समारोहका बिच जयमंगल सिमेन्ट प्रालिका प्रबन्ध निर्देशक संजय अग्रवालले प्रतियोगिताको उद्घघाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै अग्रवालले फुटबलको विकासको निम्ति फुटबल परिवारसँग सहकार्य गरेर अगाडी बढिरहेको बताए । जय मंगलम सिमेन्ट पहिलो नेपालगन्ज गोल्ड कप फुटबलको मुख्य प्रायोजक हो ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्य जनक केसी, लुम्बिनी प्रदेश फुटबल संघका निर्वतमान उपाध्यक्ष सूर्यमणी अधिकारी, महिला फुटबल समिति बाँके एवम् प्रतियोगिता संयोजक नितु चन्द शाह, साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका कार्यालय प्रमुख महेश चन्द, बाँके जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सन्तोष श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गौतम लगायतको सहभागिता रहेको थियो ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष शाहीले फुटबलको विकासमा जुनियरको फुटबल प्रतियोगिताले स्तर विकासमा महत्वपूर्ण सहयोग गरेकाे बताए ।


error: यो सुविधा उपलब्ध छैन !