नेपालगन्ज रंगशालामा यु–१४ छात्र/छात्रा फुटबल हुँदै
नेपालगन्ज – नेपालगन्ज रंगशालामा शनिबारदेखि नेपालगन्ज यु–१४ छात्र/छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा वेस्टजोन मावि नेपालगन्ज र इन्टीग्रेटेड एकेडेमी खजुरा सैनिक विच हुनेछ ।
दोस्रो खेल नेपालगन्ज मोडेल एकेडेमी र सिद्धार्थ विद्या सदन नेपालगन्जबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता भदौं २१ देखि २७ गते सम्म चल्नेछ ।
प्रतियोगितालाई बाँके जिल्ला स्तरीय यु–१४ छनोट फुटबलको रुपमा लिइएको छ । प्रतियोगिताको विजेता टिमले प्रदेश स्तरीय प्रतियोगितामा बाँके जिल्लाको प्रतिनिधित्व गर्ने आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीले बताउनु भयो ।
बाँके जिल्ला फुटबल संघको आयोजना र अखिल नेपाल फुटबल संघको सहयोगमा हुन लागेको प्रतियोगिता स्वः खेलाडी अनुपम घलान, आदित्य बलम्पाखी, बिकल रेग्मी, दिवस बानिया, प्रियान्स आचार्य र साइमन योन्जनको स्मृतिमा आयोजना हुन लागेको हो । गतवर्ष असोज महिनामा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीमा गएको पहिरोमा परी एन्फा एकेडेमीमा रहेका ६ जना खेलाडीको मृत्यु भएको थियो । प्रतियोगितामा छात्रतर्फ १७ विद्यालयको सहभागिता रहेको छ भने छात्रातर्फ खेल तालिका केही दिन पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला महिला फुटबल समिति अध्यक्ष नितु चन्द शाहले बताउनु भयो । विद्यालय स्तरबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागेको उहाँले बताउनु भयो । संयोजक चन्दले भन्नुभयो,‘यो प्रतियोगिता नयाँ खेलाडीहरुको लागि महत्वपूर्ण छ । विद्यालय स्तरबाटै नयाँ खेलाडी उत्पादन हुन्छ । हामीले विद्यालय स्तरबाट प्रतिभा छनोट गर्ने, उनीहरुको प्रदर्शनलाई निर्खान सहयोग पुगोस भन्ने हाम्रो लक्ष्य रहेको छ ।’
प्रतियोगिताले बाँके जिल्लाको फुटबलको स्तर वृद्धिमा पनि सहयोग गर्ने उहाँले बताउनु भयो ।
प्रतियोगिताको छात्र तर्फ समूह ‘ए’ मा वेस्टजोन मावि, इन्ट्रीग्रेटेड, नेपालगन्ज मोडेल एकेडेमी, सिद्धार्थ विद्यासदन, मैटहवा मावि सैनिक, ग्रीनपिस मावि, मनकामना मावि, ब्राइटल्याण्ड स्कुल रहेका छन् । समूह ‘बी’ मा सेन्ट थोमस, युनाइटेड एजुकेशनल, दिप ज्योती, होलिल्याण्ड, नेपालगन्ज सेन्ट जेभियर्स, बालज्योती, गुराँस चाल्डहुड, कोहलपुर बागेश्वरी, शिखा एकेडेमी रहेका छन् ।
विद्यालय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गर्न लागेको बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘फुटबललाई बलियो बनाउने आधार नै ग्रासरुट हो । विद्यालय स्तरबाटै जुनियर फुटबल प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्न सहयोग गर्छ । नव प्रतिभावान खेलाडीहरुको लागि यो प्रतियोगिता आयोजना गरेका हौं ।’