डुडुवाद्वारा किसानलाई अनुदानमा धानको बीउ वितरण


डुडुवा – डुडुवा गाउँपालिकाले किसानलाई धानको बीउ वितरण सुरु गरेको छ । यस वर्षदेखि पालिका आफैले बीउ तयार गरेर वितरण सुरु गरेको हो । धानको मूल बीउ उत्पादन गरी पालिकाले उन्नत जातको बीउ तयार गरी भण्डारण गरेको थियो ।
समूह र सहकारी गरी जम्मा १४ वटा सहकारीलाई ५० प्रतिशत अनुदानमा धानको बीउ बिक्री गरिएको पालिकाका कृषि शाखा प्रमुख सुशील कुमार शर्माले बताउनुभयो । उहाँका अनुसार १२० क्विन्टल उन्नत जातको र ८० क्विन्टल मूल बीउ किसानलाई सहकारी समूहमार्फत किसानलाई अनुदानमा वितरण गरिएको हो ।
८० क्विन्टल मूल बीउलाई किसानले लगाएपछि पालिकाले समय–समयमा प्राविधिकबाट परीक्षण गराई उत्पादनका आधारमा थप मूल बीउ किसानसंग पालिकाले खरिद गरि प्रशोधन तथा भण्डारण गर्ने कृषि शाखा प्रमुख शर्माले बताउनुभयो । धान खेतीका लागि २५ सय ८० हेक्टर क्षेत्रफल रहेको डुडुवामा यो वर्षको वीउले १४ सय हेक्टर क्षेत्रफललाई मात्र पुग्नेछ ।
यो वर्षदेखि बीउ भण्डारण सुरु गरेको डुडुवाले विस्तारै बीउ उत्पादनमा बृद्धि गरिने पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । पहिलो पटक धानको बीउ तयार गरेको पालिकाले यसवर्षदेखि गहुँको बीउ पनि प्रशोधन गर्ने तयारी गरेको छ ।
करिब दुई सय क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य लिएइकोले किसानका मागका आधारमा थप वृद्धि गर्दै जाने कृषि शाखा प्रमुख शर्माले बताउनुभयो । उहाँले अहिले गहुँ बालीको प्राविधिकमार्फत ल्याब परीक्षण गर्ने कार्य भइरहेको बताउनुभयो । किसानलाई पालिकाले आफैँले बीउ वितरण गरेपछि कृषि उत्पादनमा वृद्धि हुने, अन्यत्र खोज्न जान नपर्नेलगायत सुविधा भएको छ । डुडुवामा करिब ९० प्रतिशत किसान खेतीपातीमा निर्भर रहेकोले पालिकाले किसानको सहजताका लागि बीउ उत्पादन गरी घरसम्म पु¥याउने लक्ष्यका साथ विशेष कार्यक्रम ल्याएको अध्यक्ष चौधरीले बताउनुभयो ।
उहाँले बीउमा आत्मनिर्भर बनाउने रणनीति अनुसार बीउ भण्डारण तथा प्रशोधनका लागि अत्याधुनिक प्रशोधन प्लान्ट जडान गरी सञ्चालनमा ल्याइएको बताउनुभयो । डुडुवाले आगामी दिनमा सबै कृषि बालीको बीउ उत्पादन तथा भण्डारण कार्य गर्ने कृषि शाखाले जनाएको छ । बीउ उत्पादनलाई प्रशोधन र बजारीकरणका लागि डुडुवा–२ स्थित सात सय मेट्रिक टन क्षमताको भण्डारण केन्द्र स्थापना गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !