कृषि यान्त्रिकीकरणमा अनुदान दिँदै कोहलपुर नगरपालिका
काेहलपुर – कोहलपुर नगरपालिकाले कृषि पेशामा आवद्ध भएका किसानलाई लक्षित गरेर कृषि यान्त्रिकीकरणमा अनुदान दिन सुरु गरेको छ ।
आर्थिक वर्ष ०८१/०८२ का लागि विनियोजित बजेटबाट १९ वटा मिनिटिलर वितरण गरिएको कोहलपुर नगरपालिका कृषि शाखाका कृषि प्राविधिक यज्ञबहादुर रोकायले जानकारी दिए । सोमबार कोहलपुर नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच वडा नं.१ देखि वडा नं.१५ सम्मका कृषक, कृषि फार्म, कृषक समूह, केही कृषि सहकारीलाई नगर प्रमुख पूर्णप्रसाद आचार्य र नगर उपप्रमुख संगिता सुवेदीले १९ वटा मिनिटिलर वितरण गरे । ५० प्रतिशत नगरपालिकाको अनुदान र ५० प्रतिशत किसान लागतमा मिनिटिलर वितरण गरिएको छ । साना सिंचाई प्रवर्धन कार्यक्रम अन्तर्गत ८० वटा पम्पसेट वितरण गरिएको पनि कृषि प्राविधिक रोकायले जानकारी दिए । एउटा मिनिटिलरको करिव १९ हजार रुपैयाँ मूल्य पर्छ भने पम्पसेट एउटाको मूल्य ९ हजारको हाराहारीमा पर्दछ । त्यसमा कोहलपुर नगरपालिकाले ५० प्रतिशत अनुदान दिएको हो । मिनिटिलर र पम्पसेट वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले कृषि पेशालाई आधुनिकीकरण गर्नका निमित्त किसानलाई यान्त्रिकीकरणमा सहयोग गरिएको बताए । ‘कोहलपुर नगरपालिकामा किसानको संख्या पनि ठूलो छ उनले भने, ‘ती किसानलाई लक्षित गरेर कृषि यान्त्रिकीकरणमा जोड दिँदै उनीहरुलाई कृषि यान्त्रिकीकरण, विउविजनमा अनुदान तथा प्राविधिक सहयोग नगरपालिकाले गर्दै आएको छ ।’ उनले कोहलपुर नगरपालिकाले किसानलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट विनियोजन गर्दै आएको पनि बताए । ‘खासगरी साना किसानहरुलाई प्रोत्साहन गर्ने गरी हाम्रा नीति तथा कार्यक्रम र बजेट निर्माण हुने गरेको छ उनले भने, ‘आगामी वर्ष पनि किसानका माग र आवश्यकताका आधारमा नीति तथा कार्यक्रम तर्जुमा गरिने छ ।’
कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदी पनि किसानको आवश्यकता र मागमा आधारित रहेर कृषि यान्त्रिकीकरणमा नगरपालिकाले सहयोग गरेको बताइन् । उनले कृषि पेशालाई व्यवसायिक बनाउँदै लैजानका निमित्त मागमा आधारित योजनाहरु कार्यान्वयनमा ल्याइएको उल्लेख गरिन् । किसानले अनुदानमा प्राप्त कृषि उपकरणले उनीहरुको काममा सहजता थप्ने उनले विश्वास गरिन् ।
भेरी जेष्ठ नागरिक कृषक समूहक अध्यक्ष मोहन रिजालले नगरपालिकाले अनुदानमा कृषि उपकरणहरु उपलब्ध गराएको भन्दै खुसी व्यक्त गरे । उनले कृषि पेशालाई व्यवसायिक बनाउनका निमित्त मलविउविजन तथा कृषि उपकरणमा नगरपालिकाले सहयोग गर्नुपर्ने बताए । यस्ता सहयोगले साना किसानहरु लाभान्वित हुने उनको भनाइ छ ।
कोहलपुर नगरपालिकाले च्याउको विउ तथा खाद्यान्न वालीमा अनुदान दिने गरेको छ । यस्तै साना सिंचाईको संरचना निर्माण गर्ने काम पनि कोहलपुर नगरपालिकाले गर्दै आएको आर्थिक विकास समितिका संयोजक अनिता बुढाक्षेत्रीले जानकारी दिइन् । ‘कुलो निर्माण, स्यालो ट्युववेल जडान, तरकारी प्रवर्धन कार्यक्रम, वीउ विजन लगायत प्राविधिक सहयोग, मौरी पालन किसानहरुलाई आवश्यक सामग्रीको सहयोग पनि नगरपालिकाबाट हुँदै आएको छ उनले भनिन्, ‘यसले किसानहरुलाई कृषि पेशाप्रति उत्प्रेरित गरेको महसुस हामीलाई भएको छ ।’ चालू आर्थिक वर्षका लागि कृषि विकास शाखाको कुल वजेट एक करोड ४१ लख ५० हजार रहेको छ । त्यसमध्ये निशर्ततर्फ ३० लाख ५० हजार र शसर्ततर्फ एक करोड ११ लाख रुपैयाँ बजेट विनियोजन भइ कार्यान्वयन भइरहेको छ ।