ठाकुरबाबामा निःशुल्क स्वास्थ्य शिविर, २ सय ९४ जना लाभान्वित


नेपालगन्ज – गोपाल नीना फाउण्डेशनले बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ९४ जना लाभान्वित भएका छन् ।

ठाकुरबाबा नगरपालिका वडा नं. ८, चिट्कैयामा सम्पन्न उक्त शिविरमा स्वास्थ्य परीक्षण, औषधी र स्वास्थ्य परामर्श सेवाबाट सर्वसाधारण नागरिकहरु लाभान्वित भएका हुन् ।
फाउण्डेशनका सहनिर्देशक डा. तृप्तीपाल रमणले दिनु भएको जानकारी अनुसार स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित समुदायलाई लक्षित गरेर आयोजना गरिएको उक्त स्वास्थ्य शिविरबाट २२५ जना महिला र ६९ जना पुरुषको विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण, आवश्यक परामर्श सहित निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा हाडजोर्नी, छाला सम्बन्धि, पाठेघर, स्त्री राेग , पेट सम्बन्धि रोग लगायत विभिन्न प्रकारका रोगका ओैषधी सहित स्वास्थ्य सेवा लिएको फाउण्डेसनका कार्यक्रम संयोजक दिलिप गिरिले बताउनु भयो ।
उक्त निःशुल्क स्वास्थ्य शिविरमा फाउण्डेशनका अध्यक्ष तथा वरिष्ठ चिकित्सक डा. गौरव श्रेष्ठ, डा. तृप्तीपाल रमण, डा. नैमुद्दीन अन्सारी, डा. मेघा मण्डल, डा. ऋषभ श्रीवास्तव, डा. कमल नारायण रस्तोगी, डा. चन्दन सिंह, डा. सचिन शाह लगायत आठ जना चिकित्सकहरुद्वारा सर्वसाधारण गाउँलेहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।
फाउण्डेशनका कार्यक्तम संयोजक गिरिका अनुसार ठाकुरबाबा नगरपालिका अध्यक्ष टेकबहादुर बडुवालकाे प्रमुख आतिथ्यमा भएको निःशुल्क शिविर कार्यक्रमको उद्घाटनमा ठाकुबाबा नगरपालिका स्वास्थ्य इञ्चार्ज ओमबहादुर चुनारा, अन्य जनप्रतिनिधि, कर्मचारीहरु, नेपाल औषधि बिक्रेता प्रतिनिधि संघ नेपालगन्जका टिम लगायत नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखा लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख तथा स्थानीय अगुवाहरु लगायतको सहभागिता रहेको थियोे ।
गोपाल–नीना फाउन्डेसनको मुख्य आयोजनामा सम्पन्न सो शिविरमा फाउण्डेशनको मेडिकल टिम, बर्दिया ठाकुरबाबा नगरपालिका, ठाकुरबाबा स्वास्थ कार्यालय, ठाकुरबाबा नगरपालिका वडा नं.८, अन्नपूर्ण ग्याष्ट्रो हस्पिटल, सञ्जीवनी मेडिकल कलेज अफ मेडिकल साइन्सका निर्देशक डा. रोमन किदवाई, गणेशमान चोक ड्रस स्टोर, सेभेन क्याफेको सहकार्यमा सम्पन्न भएको भयो ।
शिविरको लागि नेपाल औषधि बिक्रेता प्रतिनिधि संघ नेपालगन्जले औषधि आपूर्ति तथा आवश्यक औषधि सहयोग गरेको थियो भने अन्नपूर्ण ग्यास्ट्रो केयर हस्पिटल, गणेशमान चोक ड्रस स्टोर, सेभेन क्याफेलगायतले सहकार्य गरेको थियो ।
यस शिविरमा फाउण्डेशनका कर्मचारीहरु अनुप आर्य, सुश्री प्रतिभा पौडेल, दक्षिणा क्षेत्री, फार्मेसी तर्फ अन्नपूर्ण ग्यास्ट्रो केयर हस्पिटलका सरोज चौधरी, पुष्पा कुमारी थारु, युवराज सिंह, नेपाल औषधि बिक्रेता प्रतिनिधि संघ नेपालगन्जका डि. आर. पाण्डे, उमेश राज जोशी, कमलेश कर्ण, वैद्यनाथ लाल दास लगायतले सक्रिय सहयोग गरेका थिए ।
गोपाल नीना फाउण्डेसन नेपालका डा. गौरव श्रेष्ठले स्वास्थ्य, शिक्षा, वातावरण र सामाजिक उत्तरदायित्व को यात्रामा फाउण्डेसन आगामी दिनहरूमा थप प्रभावकारी रूपमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
उल्लेखनीय छ, २०७९ फाल्गुनमा स्थापित उक्त फाउण्डेसनले यसअघि स्थानीय जनमत अर्ध साप्ताहिक, अन्नपूर्ण ग्याष्ट्रो केयर अस्पताल, नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके, हेल्थ याद आयो (मोवाइल हेल्थएप)को समन्वय र सहकार्यमा वृहद् रक्तदान कार्यक्रम, सरसफाई कार्यक्रम, नील सागर आश्रममा स्वास्थ्य परीक्षण, आश्रितहरुका लागि विहानको खाना र बालबालिकालाई शैक्षिक सामाग्री वितरण, वृक्षरोपण कार्यक्रम, मानव सेवा आश्रममा आश्रितहरुका लागि भोजन सेवा सहित न्यानो सिरक वितरण लगायत विभिन्न सामाजिक क्रियाकलाप तथा स्वास्थ्य सेवा सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
पश्चिम नेपालका सुप्रसिद्ध वरिष्ठ फिजीसियन डा. गोपाल प्रसाद श्रेष्ठ र प्रसिद्ध वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. नीना श्रेष्ठको नाममा उहाँका सुपुत्र वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठको अध्यक्षतामा फाउण्डेशन स्थापना गर्नु भएको थियो । नेपालगन्ज–१० निवासी वरिष्ठ चिकित्सक श्रेष्ठद्वय २०३९ सालदेखि नेपालगन्जमा चिकित्सा सेवामा कार्यरत हुनुहुन्छ ।


error: यो सुविधा उपलब्ध छैन !