समाजमा उदाहरणीय काम गर्न भुपु सैनिकलाई प्रधानसेनापतिको सन्देश
नेपालगन्ज – नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले भुतपूर्व सैनिकलाई समाजमा उदाहरणीय काम गरेर सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गरेका छन् ।
नेपाली सेनाको श्री नं. ४ बाहिनी अड्डा, राँझामा आयोजित ‘भुपु सैनिक सम्मेलन’लाई अडियो सन्देश पठाउदै प्रधानसेनापति सिग्देलले भने, ‘अवकासपछि समाजमा उदाहरणीय नागरिकको रुपमा सम्मानजनक जीवन व्यतित गर्ने र समाजमा सकारात्मक उर्जा प्रवाह गर्ने हामी सबैको मुख्य लक्ष्य हुनुपर्दछ । यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्दछ ।’
प्रधानसेनापति सिग्देलले सैनिक सम्मेलनले भुपु र बहालवाला सैनिकको पुनर्मिलन र सामित्य गराउने अवसर भएको बताउदै नेपाली सेनाले सञ्चालन गरेको कल्याणकारी कोषबारेमा जानकारी गराउने र कोषलाई अझ व्यवस्थि तगर्न रायसुझाव संकलन गर्ने अवसर भएको बताए ।
उत्तरपश्चिम पृतना सुर्खेतमा सँगै कार्यक्रम भएकाले नेपालगन्जमा नआएका प्रधानसेनापति सिग्देलले हिताधिकारीको जीवनस्तर उकास्न मुख्यालय लागि परेको बताए ।
बाँके र बर्दियाका तीन हजार भुपु सैनिक, उनका परिवार उपस्थित भएको कार्यक्रममा उपरथी दिपककुमार बानिया र सहायकरथी रोशनशमशेर राणाले प्रत्यक्ष अन्तरक्रिया गरेका थिए । सो अवसरमा १३ जना अशक्तलाई ह्वीलचियर र बैशाखी वितरण गरिएको थियो ।
भुपु सैनिक सम्मेलनको प्रण–पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने सन्देशका साथ आयोजित सम्मेलनमा विभिन्न जातजातीको संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम गरिएको थियो ।