पानीको समस्या र समाधानका बिषयमा बहस हुँदै

नेपालगन्ज – विश्व पानी दिवसका अवसरमा नेपालगन्जमा शनिबार सुक्दै गएको भूमिगत जलस्रोतको अवस्था र दीर्घकालीन समाधानका बिषयमा बहस हुने भएको छ ।
‘लिक्विड हार्मोनी’ शीर्षकमा आसन्न पानीको संकट र व्यवस्थापनका उपाय बिषयमा प्यानल छलफल हुने भएको हो ।
बहसमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, पूर्व मेयर विजय गुप्त, अभियन्ता डा. विनोद कर्ण र अध्येता डा. गंगादत्त नेपाल प्यानलिष्टका रुपमा रहेका छन् । यो सत्र पत्रकार झलक गैरेले सहजीकरण गर्नेछन् । पानी र जलवायु परिवर्तनमा पिएचडी गरेका डा.नेपाल हाल बागमती प्रदेश सरकारमा योजना आयोगका उपाध्यक्ष समेत हुन् । उनले नेपालगन्जको सुक्दै गएको पानीको अवस्थाका बारेमा खोज अनुसन्धान गरेका थिए ।
नेपालगन्जमा बढ्दो जल संकट र यसको दीर्घकालीन असरबारे नागरिकलाई शिक्षित गर्ने, स्थानीय, प्रदेश र संघीय सरकारको भूमिका जल स्रोत व्यवस्थापनमा हुनुपर्ने र सहरी तथा ग्रामीण क्षेत्रमा दिगो जल व्यवस्थापनका समाधानहरु अन्वेषण गर्ने यस कार्यक्रमको उद्देश्य रहेको आयोजक अध्यक्ष सौगातविक्रम शाहले बताए ।
‘तीब्र सहरीकरण, वन विनास र अनियन्त्रित पानी उपभोगका कारण स्थानीय जलस्रोतमा संकट देखिएको छ । नदीहरु सुक्दै छन्, भूमिगत जलस्तर घट्दै छ, र जलवायु परिवर्तनले यस समस्यालाई थप संकटोन्मुख गराउँदै छ, शाहले भनेका छन्-‘यस्तो अवस्थामा सार्वजनिक जागरुकता कम देखिन्छ । दीगो जल व्यवस्थापनका नीतिहरु कार्यान्वयन हुन सकेका छैनन् । यो कार्यक्रले यही बिषयको उठान र समाधान गर्ने अपेक्षा गरेका छौं ।’
बहस कार्यक्रम समापनसँगै बेलुकी सांगीतिक कार्यक्रम गर्ने आयोजकको तयारी छ । बहस कार्यक्रमलाई सघाउन बेलुकी विवेक लामा र अफरोड ब्याण्डले प्रस्तुति दिनेछ । उक्त कार्यक्रममा उत्साहजनक सहभागिताका लागि आयोजकले नेपालगन्जवासीलाई आग्रह गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !