संविधान संशोधनका लागि २/३ दिनमा संयन्त्र बन्ने
नेपालगन्ज – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २/३ दिनमा संविधान संशोधनका लागि राजनीतिक संयन्त्र बन्ने बताएका छन् ।
नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभाग र नेपाल डेमोक्याट्रिक लयर्स एशोसियसनले नेपालगन्जमा आयोजना गरेको ‘संविधान संशोधन ः आवश्यकता र चुनौती’ विषयक लुम्बिनी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले संयन्त्र बनेपछि त्यसले संविधानको कुन–कुन विषय संशोधन गर्नुपर्ने हो, त्यसबारेमा छलफल गर्ने बताए । उनले शुरुमा कांग्रेस र एमालेका बीचमा छलफल भएपछि सरकारमा रहेका र प्रतिपक्षीमा रहेका दलहरुसँग छलफल गरेर अगाडि बढ्ने बताए ।
महामन्त्री थापाले निर्वाचन प्रणाली, संघ, प्रदेश र स्थानीय तहको अधिकारको विषय, सुशासन कायम गर्ने कुरा, एक व्यक्ति दुई पटक मात्रै प्रधानमन्त्री हुने विषय संशोधनको विषय बन्न सक्ने बताए । उनले संविधान कार्यान्वयनसँग जोडिएका ४० बढी कानून बनाउनु पर्ने र त्यति नै संख्यामा खारेजी गर्नुपर्ने भएकाले यो सरकारले त्यसलाई प्राथमिकतामा राखेको बताए ।
नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागका प्रमुख डा. डिला संग्रौला पन्तको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, निमा गिरी, प्रदेश सभापति अमर पुन लगायतले बोलेका थिए ।
महामन्त्री थापा नेपालगन्ज आउदा नेपालगन्ज विमानस्थलबाटै ठूलो संख्याका नेता तथा कार्यकर्ताले पञ्चेबाजासहित स्वागत गरेका थिए ।