वडाले गरिदिएको ५ सयको बीमाले एक लाख २५ हजार प्राप्त


नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का हनुमान बर्मा दैनिक मजदुरी गर्थे । घर बनाउने काममा मजदुरी गरेर उनको घरपरिवारको जीविका चल्ने गर्दथ्यो । त्यहीकी मुन्नी पासी पनि मजदुर थिइन् । उनले घरघरमा गएर भाडा माझ्ने गर्थिन् ।
दुवै जनाको केही अघि मृत्यु भयो । यी असंगठित मजदुरका परिवारले प्रतिव्यक्ति एक लाख २५ हजार रुपैयाका दरले बिमा रकम पाए । हनुमानकी छोरी निकिता बर्मा र मुन्नीका दाजु बुधराम पासीले बिमा रकम बुझे ।
हनुमान र मुन्नीका परिवारले पाएको बिमा रकम घरपरिवारले बिमा गरिदिएकाले पाएका होइनन् । वडा कार्यालयले मजदुर, निम्न वर्गका मानिसको बिमा गरिदिएपछि हनुमान र मुन्नीका परिवारले एक लाख २५ हजार पाएका हुन् ।
वडाध्यक्ष प्रमोद रिजालका अनुसार, वडाभित्र रहेका ३ सय ११ जना मजदुरको बिमा गरिएको छ । त्यसका लागि वडाले १ लाख ५७ हजार खर्च गरेको थियो । औसत निकाल्दा बिमामा प्रतिव्यक्ति ५ सय ५ रुपैया खर्च गरिएको छ । ५ सयको बिमाले कुनै मजदुरको मृत्यु भएमा एक लाख २५ हजार दिने गरिएको छ ।
वडा कार्यालयले गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरेर बिमाको काम गरेको छ । बिमित व्यक्ति घाइते भएपनि उसलाई सहयोग गर्ने गरिएको छ । दुर्घटनामा घाइते भएका धम्बोझीकै भीम गुरुङलाई उपचार खर्च दश हजार रुपैया दिइएको थियो ।
गार्डियनका प्रदेश प्रमुख बिमल खड्काले १८ देखि ५५ वर्षका मजदुरको बिमा गरिएको जानकारी दिए । उनका अनुसार, नेपालगन्जको वडा नं. १, ७, २० र २२ नम्बरमा यो कार्यक्रम सञ्चालनमा रहेको छ । अन्य वडाले पनि इच्छा देखाएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, गार्डियनका प्रमुख प्रवन्धक कैलाश देवकोटाले मृतकका परिवारलाई बिमित रकम हस्तान्तरण गरेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !