लैङ्गिक समानताका लागि व्यवहार परिवर्तन आवश्यक


कोहलपुर – कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले लैंगिक समानताका लागि व्यवहार परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिएका छन् ।

लैंगिक रुपान्तकारी सामाजिक मूल्यमान्यता सम्वन्धी छलफल केन्द्रको बिहीबार कोहलपुर नगरपालिका वडा नं.१२ स्थित मसुरीखेतमा सुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै उनले लैंगिक समानताका लागि परम्परागत मूल्यमान्यताको सोंच बदल्न आवश्यक रहेकोमा जोड दिए । उनले भने,‘अहिलेपनि हाम्रो समाजमा पुरुष र महिला बीचको असमान सोंच र व्यवहार छ । यसलाई बदल्न महिला पुरुष एक हुनुको विकल्प छैन ।’ उनले भौतिक पूर्वाधार विकासलाई मात्रै विकास ठान्ने मनोवृत्तिबाट माथि उठ्न सबैलाई आग्रह गरे । उनले समाज तथा टोलको विकासका लागि सामाजिक विकास पनि महत्वपूर्ण हुने हिस्सा भएको बताए । सचेत व्यक्ति, सचेत परिवार र सचेत समाज भएको ठाउँमा विकासले समेत गति लिएको उल्लेख गर्दै मुल्यमान्यतामा आधारित गलत संस्कार र सोंच बदल्दै समाजको समग्र विकासमा भूमिका खेल्न आग्रह समेत गरे ।

कोहलपुर नगरपालिकाको समन्वय, मसुरीखेत टोल विकास संस्थाको सहकार्य र सिद्धार्थ सामाजिक विकास केन्द्र एसएसडिसी-पिआइएनको आयोजनामा भएको उक्त कार्यक्रममा बोल्दै एसएसडिसीका कार्यक्रम प्रवन्धक पोम नारायण पौडेलले संस्थाले सामाजिक रुपान्तरणको सवालमा काम गर्दै आएको बताए । उनले स्थानीय सरकार तथा साझेदारी संघसंस्थासँगको सहकार्यमा शिक्षा र बालअधिकारको सवालमा मुख्यगरी संस्थाले काम गर्दै आएको पनि सुनाए । विधार्थीहरुलाई नियमित विद्यालयमा कसरी टिकाइ राख्ने, हिंसा न्यूनीकरणका उपाय सुझाउनेदेखि लैंगिक हिंसा प्रभावितहरुलाई आश्रयस्थलको समेत व्यवस्थापन गर्ने काम संस्थाले गर्दै आएको पनि पौडेलले बताए । यस्तै पिआइएनका सिर्जना थारुले लैंगिक असमानताका कारण हुने विभेद अन्त्यका लागि सचेतिकरण गर्ने काम गर्दै आएको बताइन् ।

टोल विकास संस्थाका अध्यक्ष लालबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं.१२ का वडा अध्यक्ष वीरेन्द्रकुमार शाह, कोहलपुर नगरपालिका रोजगार केन्द्रका प्रमुख आशिष वर्मा, स्थानीयबासी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण संस्थाका उपाध्यक्ष विरेन्द्र सापकोटाले गरेका थिए । तीन वर्षीय परियोजना अन्तर्गत कोहलपुर नगरपालिकाका वडा नं. १, ४, १२, १३, १४ र १५ वटा वडामा यो कार्यक्रम लागु गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !