बाँकेको क्रिकेट : इतिहास गर्विलो, वर्तमान नाजुक

नेपालगन्ज – बाँकेको क्रिकेट इतिहास गर्विलो रहेको छ । विगतमा यहाँका खेलाडीले राष्ट्रकै नेतृत्व गरेका थिए । वर्तमानमा आइपुग्दा भने बाँके क्रिकेटमा धेरै पछाडी परेको छ । खेलाडी उत्पादनलाई हेर्र्दा अहिलेको अवस्था नाजुक नै रहेको छ ।
इतिहासमा फर्किदा, नेपालले पहिलोपटक सन् १९९६ मा मलेसियामा भएको प्रथम एसीसी प्रतियोगिता खेल्दा बाँकेका एलबी क्षेत्री उपकप्तान थिए । सन् १९९८ मा नेपालले दोस्रो एसीसी प्रतियोगिता आयोजना गर्दा क्षेत्री नेपालको कप्तान थिए ।
त्यसपछि क्रिकेट टीमकै नेतृत्व नगरेपनि नेपालगन्जका खेलाडी राष्ट्रिय टीममा परिरहन्थे । कोही न कोही टीममा पर्दा बाँकेको इज्जत धानिरहेको थियो । कहिलेकाही जिल्लावासी नभएपनि यहाँ पढ्न आएका र यही क्रिकेट खेल्दाखेल्दै राष्ट्रिय टीममा परेकाले नेपालगन्जवासीको ‘नाक’ जोगाइदिन्थे । त्यही पनि अहिले पातालिएको छ ।
महिला क्रिकेटको कुरा गर्दा नेपालगन्जले नेपालको पहिलो टीम बन्दा कप्तानसहित सात जना खेलाडी दिएको थियो । सन् २००७ जुलाई ११ देखि १८ गतेसम्म मलेसियाको जोहरबारुमा प्रथम एसीसी महिला क्रिकेट च्याम्पियनसीप हुँदा नेपालगन्जकी नेरी थापा कप्तान थिइन् । उनीसहित ममता थापा, केशरी चौधरी, मनिषा रावल, सीता रानामगर, विनु बुढामगर, तृष्णा सिंह नेपालको राष्ट्रिय टीममा थिए । राष्ट्रिय टीमको नेतृत्वसहित बलियो पकड जमाएको नेपालगन्जले पछिल्लो समयमा आफ्नो उपस्थिति देखाउन छोडेको छ । यहाँबाट राष्ट्रिय टीममा पर्नु फलामको चिउरा चपाउनुसरह भएको छ ।
भन्नु पर्दा अहिले नेपालगन्ज खेलाडी उत्पादन गरेर पुरानो विरासत फर्काउनेतिर भन्दा इतिहासमा रमाइरहेको छ । नेपालगन्जबाट राष्ट्रियी खेलाडी उत्पादन हुन नसक्नुमा क्रिकेट मैदान मुख्य समस्याको रुपमा रहेको छ । अहिलेसम्म जेजति खेलाडी उत्पादन भए, ती सबै नेपालगन्जको एमपी स्कूलको चौरमा खेलेर अगाडि बढेका हुन् । स्कूलको चौरले कहिलेसम्म धान्ने ? यत्रो इतिहास बोकेको शहरमा एउटा क्रिकेट मैदान बनाउन सकिदैन ? सबैको जिब्रोमा झुण्डिएको प्रश्न हो यो ।  नेपालगन्जमा क्रिकेट मैदान टड्कारो रुपमा खट्किएपनि मैदान बनाइदिने कसले ? नेपालगन्ज उपमहानगरपालिका ‘चीर निन्द्रा’मै छ भन्दा हुन्छ । मैदान बनाउन विभिन्न ठाउँका जग्गा हेरेर फूल्टेक्रामा रहेको जग्गालाई छनौट गरेपनि त्यहाँको विवाद नमिल्दा काम हुन सकेको छैन । करोडबढीको माटो पटान भइसकेको त्यहाँ अदालतमा मुद्दा परेको छ । उपमहानगरपालिकाले त्यही जग्गा पर्खिएजसरी अन्यत्र नजर डुलाएको छैन ।
पूर्व खेलाडी समाज, बाँकेको संयोजक एवं टेबुलटेनिसका राष्ट्रिय खेलाडी तथा २०२८ देखि २०३२ सम्म स्थानीय क्रिकेट टीमका प्रथम क्याप्टेन प्रकाशबहादुर श्रेष्ठले अहिलेसम्म क्रिकेट मैदान बन्न नसकेकोमा रोष प्रकट गर्नुभयो । उहाँले नेपालगन्जमा आधुनिक रंगशाला बन्दा क्रिकेट मैदान पनि राम्रो बन्नु पर्ने बताउनुभयो । श्रेष्ठले हालै पुराना खेलाडीहरु जम्मा गरेर नेपालगन्जमा रहेका ऐलानी जग्गा खोजेर क्रिकेट मैदान बनाउन दबाब दिने तयारी गरेको सुनाउनुभयो ।
क्रिकेटका पुराना खेलाडी प्रमोदबहादुर श्रेष्ठले नेपालगन्जमा क्रिकेट मैदान बनाउन सबै जागरुक र एकजुट हुनुपर्ने बताउनुभयो ।
बाँकेको कोहलपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनिरहेको छ । नेपालगन्जमा यसमा पछि पर्दै गएको छ । नेपालगन्जमा क्रिकेट मैदान बनाउनका लागि प्रत्येक वर्षजसो प्रदेशबाट बजेट छुट्याउने गरेपनि अन्यत्र जाने गरेको सम्बद्धहरु बताउँछन् । नेपालगन्जको क्रिकेटको गर्विलो इतिहासलाई बचाउन सबै एकजुट भएर क्रिकेट मैदान बनाउनु पर्ने एक नम्बरको काम छ भने नियमित प्रशिक्षण–अभ्यास गराउनु पर्ने अर्को आवश्यकता देखिएको पुराना पत्रकार पूर्णलाल चूके बताउनुहुन्छ ।

error: यो सुविधा उपलब्ध छैन !