कोहलपुरमा बन्ने भयो अत्याधुनिक शवदाह गृह

कोहलपुर – कोहलपुर नगरपालिकाले डुडुवा र रोहिनी खोलाको दोभानमा अत्याधुनिक शवदाह गृह निर्माण गर्ने भएको छ । कोहलपुर नगरपालिका—११ स्थित उक्त स्थानमा बन्न लागेको शवदाह गृहको आइतबार शिलान्यास गरिएको छ ।

कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्य, नगर उपप्रमुख संगिता सुवेदी, वडा अध्यक्ष कल्पना शर्मा अधिकारी, शवदाह गृह निर्माण समितिका संयोजक चक्र अधिकारीले शवदाह गृहको संयुक्त रुपमा शिलान्यास गरेका हुन् । कोहलपुर नगरपालिकाका नगर प्रमुख आचार्यले शवदाह निर्माण भएपछि करिब ४२ किलोमिटर टाढा अगैया घाटसम्मको झन्झटिलो, कष्टकर र खर्चिलो अवस्थाको अन्त्य हुने बताए ।
‘कोहलपुरमा शवदाह गृह नहुँदा शव अन्त्यष्टिका लागि राप्तीसोनारीको अगैया र बबई समेत लग्नुपर्ने बाध्यात्मक परिस्थिति थियो उनले भने, ‘अव त्यो अवस्था रहदैन ।’ प्रारम्भिक रुपमा करिव १ करोड २५ लाख माथिको बजेटबाट निर्माण सम्पन्न हुने गरी काम अगाडि बढाइएको उनले बताए । ‘भरसक हामी शवदाह गृह निर्माणको लागि आवश्यक रकम विभिन्न सामाजिक तथा वित्तिय संस्थाहरुबाट सामाजिक उत्तरदायित्व वहन गर्न लगाइ जुटाउने प्रक्रियामा छौं उनले भने, ‘अपुग हुने अवस्था आए नगरपालिकाले पनि सहयोग गर्नेछ ।’

नगर उपप्रमुख सुवेदीले गरिव तथा विपन्न परिवारमा कसैको मृत्यु हुँदा शव अन्त्यष्टि गर्न लैजान नै महंगो पर्ने अवस्थाको कोहलपुर शवदाह गृहले अन्त्य गर्ने बताइन् । ‘अगैया दूरीका हिसावले पनि टाढा पर्ने र मलामी जानआउन पनि गाह्रो हुने अवस्था थियो उनले भनिन्, ‘कोहलपुरमै शवदाह गृह बन्दा समयको पनि बचत हुन्छ, खर्चको भार पनि कम पर्ने र सबैलाई सहज पनि हुन्छ ।’

नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले नगरबासीको चाहना र आवश्यकतालाई बुझ्दै नगर प्रमुख आचार्य नेतृत्वको टिमले कोहलपुरमा शवदाह गृह निर्माणको काम प्रारम्भ गरेकोमा खुसी व्यक्त गरे । ‘कोहलपुरबासीका लागि शवदाह स्थल अत्यन्तै आवश्यक थियो, उनले भने,‘यो आवश्यकतालाई पूरा गर्ने काम जनप्रतिनिधिको अहिलेको टिमले गरेको छ । म खुसी छु ।’

स्थानीय अगुवा बज्जु थारु पनि शवदाह गृह निर्माणको काम अघि बढेपछि खुसी छन् । पूर्व जनप्रतिनिधि समेत रहेका बज्जुले आफ्नो सपना पूरा भएको बताए । उनले यसअघि पनि शवदाह गृह निर्माणका लागि आवाज उठाउँदै आएका थिए ।

अर्का स्थानीय सुशीला शाहीले अत्याधुनिक शवदाह गृह निर्माण हुने भएपछि दुर्गन्धबाट मुक्ति पाइने भन्दै खुसी व्यक्त गरिन् । यसअघि उक्त ठाउँमा शवहरु गाड्ने, पूर्णरुपमा नजलाइ छाड्ने गरेका कारण दुर्गन्ध फैलने गरेको उनले बताइन् ।

तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी कोहलपुर शवदाह गृहको शिलान्यस गरिएको शवदाह गृह निर्माण समितिका संयोजक अधिकारीले जानकारी दिए । शवदाह गृहमा काठ र मेसिनबाट शव जलाउन मिल्ने व्यवस्था मिलाइने छ । त्यहाँ मलामीहरु बस्नका लागि संरचना बनाइने छ भने शौचालयको पनि व्यवस्थापन गरिने छ ।

अधिकारीका कोहलपुर शवदाह गृह निर्माणका लागि ग्लोवल बैंकले ५० लाख रुपैयाँ सहयोग गरिसकेको छ भने एभरेष्ट बैंक र गोल्छा ग्रुपले पनि सहयोगको प्रतिबद्धता जनाइसकेको छ । शिलान्यास कार्यक्रममा कोहलपुर क्षेत्रका विभिन्न राजनीतिक दलका नेताहरु, जनप्रतिनिधिहरु, समाजसेवी, स्थानीयबासीको सहभागिता रहेको निर्माण समितिका सचिव कृष्ण प्रसाद आचार्यले जानकारी दिए ।


error: यो सुविधा उपलब्ध छैन !