धम्बोझी लिग च्याम्पियन


नेपालगन्ज – नेपालगन्जको धम्बोझी क्लव बाँके जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगिताको च्याम्पियन भएको छ ।
बाँके जिल्ला फुटबल संघले आयोजना गरेको बाँके जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगितामा बिहीबार रेसिङ सहारा फुटबल क्लव, कोहलपुरलाई २–० गोलले पराजित गर्दै धम्बोझी जिल्ला लिग च्याम्पियन भएको हो । धम्बोझीको जीतमा क्षितिज थापामगरले १२ मिनेट र मनिष सुनारले ६५ मिनेटमा गोल गरेका थिए ।
च्याम्पियन भएसँगै धम्बोझीले एक लाख रुपैया पुरस्कार पाएको छ भने प्रदेश स्तरीय फुटबल प्रतियोगितामा सहभागी हुने मौका पाएको छ । द्वितिय भएको रेसिङले ५१ हजार रुपैया, ट्रफी र मेडल पाएको छ । फाइनल खेलको म्यान अफ द म्याच धम्बोझीका क्षितिज थापामगर भएका थिए ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी धम्बोझीका विपिन थापामगर, उत्कृष्ट गोलकिपर रेसिङका सालान परियार, उत्कृष्ट रक्षक धम्बोझीका विष्णु कसेरा, सर्वाधिक गोलकर्ता धम्बोझीका प्रेमकुमार सुनार र उत्कृष्ट प्रशिक्षक धम्बोझीका दिपेन्द्र घले भएका छन् । उनीहरुलाई ट्रफीले सम्मान गरिएको थियो ।
प्रतियोगिताको विजेता, उपविजेता, विधागत उत्कृष्ट खेलाडी, रेफ्री, प्रतियोगिता सफल बनाउन योगदान दिएका रेसिङका अध्यक्ष चक्र चिमाला क्षेत्री, सहयोगी कोहलपुर नगरपालिका, प्रहरी, एपीएफ स्कूल, टंकनाथ तिमिल्सेना, मानबहादुर थापा, भद्रबहादुर बढुवाल, प्रकाश गौतमलाई कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्य, राखेपका सदस्य दिपेन्द्र विष्ट, बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवं एन्फाका केन्द्रीय सदस्य भोजराज शाही, महिला उद्यमी नितु चन्द, कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य ईश्वरी विक, पूर्वखेलाडी शंकर खड्का, गोविन्द श्रेष्ठलगायतले पुरस्कार, ट्रफी, मेडल वितरण गरेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !