कानुनी परामर्श तथा अभिमुखीकरण


खजुरा – ११४औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बाँकेको खजुरा गाउँपालिकामा आज कानुनी परामर्श तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।

खजुरा गाउँपालिकाले ८ वटै वडाहरुको समन्वय र वी ग्रुपको सहयोगमा खजुरामा उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा उपस्थित सहभागीले महिलाहरु नेतृत्वका लागि अगाडि सर्नु पर्ने र हरेक क्षेत्रमा सम्मानजनक उपस्थिति हुनु पर्ने बताए ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्मर विकले नेपालका हरेक आन्दोलनमा महिलाहरुको सक्रिय उपस्थिति र बलिदानको इतिहास रहेको बताए । उनले महिलाहरुलाई सक्षम र नेतृत्वमा ल्याउन खजुरा गाउँपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको बताए ।

गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्लले महिलाले के कति हक अधिकार प्राप्त गरेका छन् र अझै के कति हक अधिकारका लागि लड्नु पर्ने छ भन्ने कुरा बुझ्न जरूरी रहेको बताइन् । उनले नेपालमा सती प्रथा अन्त भए पनि नेपालका पश्चिम क्षेत्रमा अझै महिलालाई दमन गर्ने खालका प्रथा रहेको बताइन् ।

उपाध्यक्ष मल्लले सामान्य कुरामा पुरुषको तुलनामा महिलाहरुलाई बढी दमन गर्ने कुराहरू विद्यमान रहेको बताउँदै घरायसी काम होस वा घर बाहिरका काममा महिलाहरुलाई पुरुषको तुलनामा समयकाे दायरामा राखिने, घर सल्लाहमा पुरुषको प्राथमिकता बढी जस्ता बेतिथि कायमै रहेको बताइन् ।

खजुरा गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष एकमाया विकके उस्तै प्रकृतिको काममा महिला र पुरुषबीच फरक फरक ज्यालाको विभेद प्रति अन्तर्राष्ट्रिय रुपमा विरोध भइरहँदा पनि त्यो विभेद अझै रहेको बताइन् । उनले यस्ता कार्यक्रमले महिला र पुरुषबीच देखिएका विभेदको अन्त्य गर्न सक्नु पर्नेमा जोड दिइन् ।

विकले महिलाहरु पनि नेतृत्वमा पुग्नु पर्ने बताइन्। उनले देशको संघीय संरचनाले महिलाहरुलाई प्राथमिकता दिइरहेको समयमा हामीले पनि नेतृत्वको के हो र नेतृत्वमा जान किन जरुरी छ भन्ने विषयमा जानकार हुन जरुरी रहेको बताउँदै आउँदो समयमा खजुरा गाउँपालिकामा महिला र पुरुषको समान नेतृत्वको हुनु पर्ने  बताइन् ।

खजुरा गाउँपालिकाका कानुनी सल्लाहकार सुनिता ज्ञवालीले देशमा कानुन बदलिएता पनि पुरुषहरुको मानसिकता भने पुरानै प्रवृतिकाे  रहेको बताए ।

नारी उत्थान खजुराकी अध्यक्ष दुर्गा क्षत्रीले अझै पनि धेरै महिलाहरुले आफ्ना कुरा समाजमा राख्न नसक्ने परिस्थिति रहेको बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले महिलाका  अधिकारका सवालमा महिलाले नै महिलालाई दमन गर्ने गरेको बताए ।

कार्यक्रममा खजुरा गाउँपालिका कार्यपालिका सदस्य कृष्णा विक पोखरेल, मैसरा पुन, विष्णु सुनार,  खातमूल निसासाई तथा खजुरा गाउँपालिकामा रहेको विभिन्न संघ संस्थाकाे नेतृत्वमा रहेका महिलाहरुको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !