जमुनाहगाउँमा सडक र बत्तीकाे काम सुरु
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १५ स्थित जमुनाहा गाउँमा सडक बत्ती जडान तथा पीच सडक निर्माण कार्यको सुरुवात गरिएको छ ।
सुर्खेत रोडदेखि जमुनाहा गाउँसम्म ४० वटा पोलमा सडक बत्ती जडान, २२० मिटर लामो सडक पीच, माटो पटान तथा नालामा ढक्कन हाल्ने योजनाको सुरुवात गरिएको हो । नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले आज उक्त योजनाको शुभारम्भ गर्नुभएको छ ।
आगामी जेठ १५ गतेभित्र काम सक्ने गरी ए.एन.डी कन्स्ट्रक्सन ग्रुप बाँकेले ठेक्का पारेको छ । ४७ लाख ८८ हजार लागतमा सडक बत्ती जडान, सडक स्तरोन्नति तथा नालामा ढक्कन हाल्ने काम सम्पन्न हुने नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनियर प्रदिपकुमार हरिजनले जानकारी दिनुभयो ।
उक्त योजनाको शुभारम्भ गर्दै नगर प्रमुख प्रशान्त विष्टले सामुदायिक सहभागितामा तोकिएकै समय सीमाभित्र गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा उप्रमुख कमरुद्विन राई, वडा नम्बर १५ का वडा अध्यक्ष मदन विक्रम शाह, नेपालगञ्ज उपमहानगरपालिका नापी शाखा प्रमुख मनराज थापा, ए.एन.डी कन्स्ट्रक्सनका प्रोप्राइटर निराजन ढुंगाना लगायतको उपस्थिति थियो ।