जिभिएन स्कुललाई दुई वर्ष कारबाही


नेपालगञ्ज – बाँके जिल्ला फुटबल संघले मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको दौरान अनुशासन उल्लघंन गरेको भन्दैं जिभिएन स्कुललाई दुई वर्षको लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

संघको बैठकले प्रतियोगिताको दौरान जिभिएन टिमका अफिसियल, प्रशिक्षक र खेलाडीले खेल भावना विपरितको क्रियाकलाप गरेको भन्दै दुई वर्ष र १० हजार जरिवाना समेत गर्ने निर्णय गरेको हो । कारबाहीमा परेको जिभिएनले दुई वर्षसम्म संघले आयोजना गर्ने प्रतियोगितामा सहभागिता जनाउन पाउनेछैन ।
खेल रेफ्री, म्याच कमिसनर र प्रतियोगिता संयोजक तथा संघका उपाध्यक्ष निर्मल चन्दको प्रतिवेदनका आधारमा संघले कारबाही गरेको हो ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीको अध्यक्षमा बसेको बैठकले अन्य महत्वपूर्ण निर्णय समेत गरेको छ । संघले बाँके जिल्ला स्तरको मेयर कप च्याम्पियन टिम नेपालगञ्ज सेन्ट जेभियर्स छात्र टिम र कैलाली मेयर कपको डिफेन्डिङ च्याम्प्यिन टिम कैलाली गुरुकुल इंङलिस मिडियम स्कुलबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको छ ।
फागुन १९ गते बाँकेमा आयोजना गरिने मैत्रीपूर्ण फुटबलको खेलको संयोजकको रुपमा संघका सदस्य दिपेन्द्र घलेलाई जिम्मेवारी दिइएको छ । मैत्रीपूर्ण फुटबल खेलको लागि खेलाडी छनोटको जिम्मेवारी प्रशिक्षक सानु तामाङ र रबिन्द्र श्रेष्ठले पाएका छन् ।
मैत्रीपूर्ण फुटबलको टिम तयारीको लागि मुख्य प्रशिक्षकको रुपमा भिमजंग शाह, प्रशिक्षकमा युवराज शाही र विशाल परियारलाई छनोट गरिएको छ ।
संघले प्रतिभावान खेलाडी उत्पादन गर्नको लागि वर्षभरी ग्रासरुट कार्यक्रम गर्ने निर्णय गरेको छ । त्यसको लागि संघका अध्यक्ष शाहीको संयोजकत्वमा ग्रासरुट कार्यक्रम संचालन गर्ने निर्णय गरिएको छ । ग्रासरुट कार्यक्रमको सदस्यका रुपमा संघका उपाध्यक्षद्धय निर्मल चन्द, टोपेन्द खत्री, महासचिव कमल खत्री र सदस्य दिपेन्द्र घले रहेका छन् ।
यसैगरी संघले अखिल नेपाल फुटबल संघको फागुन १४ गते काठमाडौंमा हुने साधारण सभामा संघका उपाध्यक्ष टोपेन्द्र खत्री र सदस्य नम्रता तामाङलाई पठाउने निर्णय गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !