पैसा खाएर योगी भागेपछि …


नेपालगञ्ज – सुर्खेतका होमनाथ योगी बाँकेका नौ जना युवासँग पैसा लिएर फरार भएका छन् ।
दुबई पठाइदिन्छु भन्दै प्रतिव्यक्ति दुई लाखदेखि दुई लाख पचास हजार रुपैयासम्म लिएका योगी सम्पर्कबिहीन भएपछि खजुरा गाउँपालिका वडा नं. ४, ईगाउँका नौ जना रन्थनिएका छन् । योगीले दुबईको बलदिया कम्पनीमा पठाइदिने भन्दै पैसा लिएका थिए ।
अमरबहादुर बुढामगर र गोपालबहादुर पुनमगरले पैसा लिएको केही दिनपछि योगी सम्पर्कविहीन भएको बताउनुभयो । नेपालगञ्जमा पत्रकार खोज्दै आएका अमरबहादुर र गोपालबहादुरले दुबई पठाइदिने भनेर काठमाडौं बोलाएर योगीले एक महिनासम्म काठमाडौंमा बसाएर अरु पैसा खर्च गराएको बताउनुभयो ।


‘भिसा आयो भनेर हामीलाई काठमाडौं बोलायो । हामी गयौं । खजुराका नौ जना र अन्य ठाउँका गरी १३ जना थियौ । हामीलाई उसले नक्कली भिसा थमायो । हामीले त्यो थाहा पायौ । त्यसपछि योगी फरार भयो, अमर र गोपालले भन्नुभयो, हामीले उसलाई खोजेको खोज्यै छौं । फेला पार्न सकेका छैनौ ।’
अमर र गोपालले तीन रुपैया ब्याजमा पैसा ऋण लिएर योगी बुझाएका थिए । ऋण तिर्न हम्मेहम्मे परेको छ । लामो समयदेखि उनीहरुले योगीलाई खोजिरहेका छन् । योगीले दिएको मोबाइल नम्बर स्वीचअफ छ । सबै जनाले योगीको नाममा बैंकबाट पैसा पठाएका छन् । पैसा पठाएको प्रमाण भएपनि व्यक्ति नभेटिएपछि उनीहरु रन्थनिएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !