१८ वर्षमाथिका बालबन्दी नौवस्तामा

नेपालगञ्ज – बाँकेको नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागारमा १८ वर्षमाथिका बालबन्दीलाई राख्न शुरु गरिएको छ ।
अपराध गरेर बाल सुधार गृहमा पुगेका १८ वर्षमाथिका बालबन्दीले देशका विभिन्न ठाउँमा बबाल गरेपछि सरकारले उनीहरुलाई नौवस्तास्थित क्षेत्रीय कारागारमा राख्न शुरु गरेको हो । १८ वर्ष भन्दा मुनीका बालक तथा किशोरलाई बाल सुधार गृहमा राख्ने भनिएपनि १८ वर्ष नपुग्दै अपराध गरेका र तोकिएको सजाय काट्दा बढी उमेर भएका बालबन्दीलाई पनि एकै ठाउँमा राखिएको थियो । बाँके, ललितपुरलगायत देशका विभिन्न ठाउँमा बढी उमेर भएका बालबन्दीले ‘आतंक’ मच्याएपछि सरकारले उनीहरुलाई छुट्टै ठाउँमा राख्न शुरु गरेको बुझिएको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले नौवस्तास्थित क्षेत्रीय कारागार सञ्चालन गरिएको बताउनुभयो । चार वटा ब्लक रहेको क्षेत्रीय कारागारको एउटा ब्लकमा बाल सुधार गृह सञ्चालन गरिएको छ । अरु सञ्चालन हुन सकेको छैन ।
सहायक प्रमुख जिल्ला अधिकारी केसीले क्षेत्रीय कारागारमा बनाइएको बाल सुधार गृहमा राख्न देशका विभिन्न ठाउँबाट बालबन्दी ल्याइरहेको जानकारी दिनुभयो । ‘१८ वर्षमाथिका बालबन्दी राख्न शुरु गरिएको छ, सहायक प्रमुख जिल्ला अधिकारी केसीले भन्नुभयो, बाल सुधार गृह सञ्चालनका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले नासुस्तरको कर्मचारी खटाएको छ ।’
बाल सुधार गृह सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ भइसकेका छन् । नेपाल प्रहरीले प्रहरी नायव निरीक्षकको कमाण्डमा २५ जना र सशस्त्र प्रहरीले प्रहरी निरीक्षकको कमाण्डमा ३० जना प्रहरीलाई नौवस्तामा राखेको छ ।
बाँकेको डुडुवामा रहेको बाल सुधार गृहमा असोज ४ गते राती बालबन्दीका बीचमा आपसमा झडप हुँदा एक जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । कारागारबाट चार जना भागेकोमा तीन जना अझै पक्राउ परेका छैनन् । यहाँ २ सय ५४ जना बालबन्दी रहेकोमा १८ वर्षमाथिका १ सय ६५ जना छन् । १८ वर्षमाथिकालाई क्षेत्रीय कारागारमा बनाइएको बाल सुधार गृहमा सार्ने तयारी भएको छ ।
नौ विगाहमा रहेको नौवस्ता क्षेत्री कारागार तीन हजार क्षमताको छ । देशभरीकै कारागारमा कैदी बन्दीको संख्या बढी भएपछि सरकारले नौवस्तामा क्षेत्रीय कारागार बनाएको हो । बनेर तयार भएपनि यहाँ कैदी बन्दी राख्न शुरु गरिएको छैन । त्यहीको एउटा ब्लकमा बाल सुधार गृह सञ्चालन गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !