रिट खारेज, रानाभाटको विजयी घोषणालाई मान्यता

नेपालगञ्ज – उच्च अदालत तुलसीपुर इजसाल, नेपालगञ्जले नेपालगञ्ज उद्योग बाणिज्य संघको महासचिव भीमबहादुर रानाभाटविरुद्ध परेको रिट खारेज गरेको छ ।
भदौ २ गते भएको निर्वाचनमा ६ मतले विजयी भएका रानाभाटविरुद्ध अर्का उम्मेदवार टंकप्रसाद शर्माले पुनः मतगणनाको माग राख्दै रिट हालेका थिए । रानाभाटले एक हजार नौ सय २६ मत ल्याउदा शर्माले एक हजार नौ सय २० मत ल्याएका थिए ।
प्रमुख निर्वाचन आयुक्तले विजयी घोषणा गर्नुअघि नै शर्माले पुनः मतगणनाको माग राख्दै निवेदन दिएका थिए । त्यसको बाबजुद प्रमुख निर्वाचन आयुक्त टीका सिंहले रानाभाटलाई विजयी घोषणा गरेका थिए । प्रमुख निर्वाचन आयुक्त सिंहले फेरि दबाबमा परेर पुनः मतगणना हुने सूचना जारी गरेपछि विवाद बढेको थियो । पुनः मतगणना गर्ने सूचना जारी गरेपनि सिंहले फेरि नगन्ने भनेपछि शर्मा अदालत गएका थिए ।
सोमबार न्यायाधीशद्वय भानुभक्त न्यौपाने र पुनमसिंह चन्दको इजलासले शर्माको रिट खारेज गर्दै निर्वाचन आयुक्तले विजयी घोषणा गरेको कुरालाई मान्यता दिने फैसला गरेको हो । योसँगै महासचिवको विवाद टुंगिएको छ । संघमा महासचिवबाहेक अरुले शपथ खाइसकेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !