जनतासँग घुल्न माओवादीको अभियान

नेपालगञ्ज – नेकपा माओवादी केन्द्रले जनतासँग घुलमिल गर्न तीन महिने विशेष अभियान सञ्चालन गर्दैछ ।
‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ नाम दिएर माओवादीका नेताहरु जनताको घरघरमा जान थालेका हुन् ।
भदौ १६ गतेदेखि शुरु हुने अभियानका बारेमा जानकारी दिदै माओवादीका स्थायी कमिटि सदस्य एवं बाँके कमाण्डर कुलप्रसाद केसीले जिल्लाका ८१ वटै वडामा गएर पार्टीसँग बढेको दुरी र अविश्वासलाई हटाउने बताउनुभयो ।
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका केसीले तीन महिने अभियानमा छुटेका (अन्यत्र गएका) सहयात्रीलाई जोड्ने बताउनुभयो ।
माओवादीका जिल्ला अध्यक्ष नरेन्द्र पाण्डेले अभियानले पार्टीलाई रुपान्तरण, सुदृढ र एकताबद्ध गर्दै आम जनसमुदाय र पार्टीलाई विश्वास दिलाउन विशेष भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
तीन महिने अभियानमा पालिकाहरुमा केन्द्रीय सदस्य, लुम्बिनी प्रदेश कमिटिका पदाधिकारीहरुलाई खटाइएको छ । अभियानका क्रममा राजनीतिक वैचारिक, संगठन सम्बन्धी, संघर्ष तथा जनसम्बन्ध, प्रचार, आर्थिक उत्पादनका बारेमा छलफल हुने बताइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !