नरैनापुरमा स्वास्थ्यको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी

नरैनापुर – बाँकेको नरैनापुर गाउंपालिकाको आर्थिक वर्ष २०७९-८० मा संचालित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ ।
नरैनापुर गाउंपालिकाको स्वास्थ्य शाखाको आयोजनामा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालको अध्यक्षतामा गोष्ठी सम्पन्न भएको हो ।
बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चलेको उक्त गोष्ठीमा सहभागी गाउंपालिका अन्तर्गतका ६ वटै वडाका वडा स्वास्थ्य चौकी प्रमुखहरुले गत आ.व मा आ–आफ्नो वडामा भए गरेका स्वास्थ्य कार्यक्रम तथा प्रगति विवरण प्रस्तुत गरेका थिए ।
सोही गोष्ठीमा प्रस्तुत गरिएको विवरणको आधारमा आन्तरिक मूल्यांकन गरि कार्य र सेवाको आधारमा उत्कृष्ट भएर छानिएका स्वास्थ्य संस्थालाई सम्मान गरिने निर्णय गरिएको स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले जानकारी दिनु भयो ।
समीक्षा गोष्ठीको समापन कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत खरालले उत्कृष्ट कार्य सम्पादन गरेर सफलतापूर्वक जिम्मेवारी पुरा गर्ने पालिका भित्रका स्वास्थ्य चौकीहरु, स्वास्थ्यकर्मी तथा जस्तो सुकै परिस्थितिमा पनि स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य स्वयंसेविकाहरुलाई धन्यवाद दिनु भयो ।
गोष्ठीमा सहभागी सबै वडाका स्वास्थ्य प्रमुखले गत आर्थिक वर्षको भन्दा यो आ.व मा स्वास्थ्यका सम्पूर्ण स्वास्थ्य सूचकहरु राम्रो भएकोले आगामी दिनमा यस गाउंपालिकालाई नमूना स्वास्थ्य गाउंपालिकाको रुपमा घोषणा गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
गोष्ठीको समापन कार्यक्रममा वडा नं. २ का अध्यक्ष मसुद अहमद शाह, स्वास्थय कार्यालय बाँकेका दुर्गा गौतम, संघीय सांसद किशोर सिंह राठाैरका स्वकिय सचिव ज्ञानु जोशी लगायतले नरैनापुरले स्वास्थ्य क्षेत्रमा गरेको कामको प्रशंसा गर्नु भएको थियो ।

error: यो सुविधा उपलब्ध छैन !