नेपालगञ्जकै स्वास्थ्य चौकीमा शौचालय छैन

घुम्ती शौचालय, जुन प्रयोग नआई थन्किएको छ ।

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य चौकीमा शौचालय छैन भन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । साँचो कुरा हो, नेपालगञ्ज उपमहानगरपालिकाकै एक स्वास्थ्य चौकीमा शौचालय छैन ।
नेपालगञ्जको बीच बजारमा पर्ने वडा नं. ३ मा रहेको स्वास्थ्य चौकीमा शौचालय नरहेको पाइएको हो ।
आम मानिसजस्तै नेपालगञ्जका मेयर प्रशान्त विष्ट पनि यो कुरा सुन्दा दंग परेका छन् । स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी मनिषा कनोजियाका अनुसार, स्वास्थ्य चौकी भाडाको घरमा राखिएको छ । जहाँ शौचालय छैन ।
उपमहानगरपालिकाको २३ वटै वडाको स्वास्थ्य संस्थाको समीक्षा गोष्ठीमा स्वास्थ्य संस्थामा शौचालय नभएको कुरा सुनेपछि मेयर विष्ट कड्किएका छन् । मेयर विष्टले भन्नुभयो, स्वास्थ्य संस्थामा शौचालय नहुनु दुःखद र लज्जाको विषय हो । भाडा नै तिर्ने हो, शौचालय भएको घर भाडामा लिनुस् ।’ उहाँले स्वास्थ्य संस्थामा शौचालय, खानेपानी, बर्थिङ सेन्टर भएको ठाउँमा आमालाई सुरक्षित बस्ने ठाउँ हुनै पर्ने बताउनुभयो ।
गोष्ठीमा जीआइजेडका कार्यक्रम संयोजक सुभाष नेपालले शौचालय नभएको स्वास्थ्य संस्था बन्द गरिदिन आग्रह गर्नुभयो ।
नेपालगञ्जमा विगतमा आधा दर्जन घुम्ती शौचालय थिए । ती सबै थन्किएका छन् । घुम्ती शौचालयलाई त्यस्ता ठाउँमा प्रयोग गर्न सकिने एकथरीको भनाई छ ।


error: यो सुविधा उपलब्ध छैन !