सामाजिक काममा अघि सर्ने भीमबहादुर रानाभाट
नेपालगञ्ज – भीमबहादुर रानाभाट सामाजिक काममा अघि सर्ने व्यक्तिको नाम हो । चाहे त्यो व्यवसायिक पाटो, टोल सुधार होस् या खेलकुद ।
जुमा स्पोर्टस क्लव खेलकुदमा लागेका व्यक्तिका लागि नौलो नाम होइन । व्यवसायीलाई खेलकुदमा जोड्ने क्लव हो यो । जुमाका संस्थापक अध्यक्ष रानाभाटले खेलप्रेमी व्यवसायी साथीहरुसँग मिलेर नेपालगञ्जमा व्यापारी पनि खेलकुदमा रमाउँछन् भन्ने गतिलो उदाहरण दिन सफल भए । लाखौंको पुरस्कार राशी राखेर व्यापारीहरु फुटबल खेल्दा उनीहरुको मन फुटबलप्रति पक्कै सकारात्मक भयो नै । जुमाको जन्मपछि व्यापारीको फुटबललाई हेर्ने दृष्टिकोण परिवर्तन मात्रै होइन, फुटबलमा सहयोग पनि बढेको हुनुपर्छ ।
सामाजिक कार्यमा ‘यसो गरौं न’ भनेर कोहीले राम्रो कुरा अघि सा¥यो भने रानाभाटको कदम अघि बढिहाल्छ । तयारी कपडा, ब्याग, जुत्ता चप्पल तथा खुद्रा व्यवसायीको हकहितको सवालको कुरा उठ्दा सबैसँग मिलेर रानाभाट संघ बनाउन अघि सरे । आफैले नेतृत्व लिएर तयारी कपडा, ब्याग, जुत्ता, चप्पल तथा खुद्रा व्यवसायी संघ गठन गरे । यी आइटमका व्यापारीले पूर्णरुपमा साथ दिए । सबै मिलेर अघि बढे ।
टोल सुधारको कुरा आयो, रानाभाट अघि सरे । न्यूरोड टोल सुधार समितिको महासचिव बनेर टोलमा राम्रो काम गर्न अघि बढे । एक्लै होइन, समूहमा मिलेर अघि बढ्दा काम गर्न सहज हुन्छ भन्ने मान्यता राख्ने रानाभाट बर्दियाली सेवा समाज बाँकेमा आवद्ध भएर सहयोगको हात अघि बढाए । भेरी साहित्य समाज र लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बीटुमा रानाभाटको आवद्धता छदैछ ।
वि.सं. २०५३ सालदेखि नेपालगञ्जमा व्यापार गरेर कालिका इम्पोरियम चलाएका रानाभाट नेपालगञ्ज उद्योग बाणिज्य संघको भदौ २ गतेको चुनावका लागि चर्चित नाम हो भन्दा हुन्छ । वर्तमान कार्य समितिमा सदस्य रहेका रानाभाटले आसन्न चुनावमा महासचिव पदमा उम्मेदवारी दिएका छन् ।
जहाँ जुन संघ संगठनमा भएपनि मिजासिलो र सरल भएका कारण रानाभाटसँग काम गर्न सहज हुने गर्दछ । तोकिएको कामलाई ‘मिसन’को रुपमा अघि सारेर सम्पन्न गर्ने स्वभावका रानाभाटको यही सहज, सरल, सबैसँग मिल्ने र घुलमिल हुन सक्ने बानीले गर्दा भदौ २ गतेको चुनावमा उनलाई सहज हुने उनीनिकटहरु बताउँछन् । रानाभाट समावेशी प्यानलमा रहेका छन् ।