खजुरा बजारको सडक ठेक्का रद्द
नेपालगञ्ज – सडक डिभिजन कार्यालय, नेपालगञ्जले नेपालगञ्ज–बर्दिया सडक खण्डअन्तर्गत खजुरा बजार र भादा–गुलरिया खण्डको सम्झौता रद्द गरेको छ ।
गजुरमुखी निर्माण कम्पनी प्राली, इलामलाई ठेक्का दिइएको यो सडक खण्ड लामो समयसम्म निर्माण नभएपछि सडक डिभिजन कार्यालयले सूचना निकालेर सम्झौता तोडेको जनाएको छ । खजुराको एक हजार आठ सय मिटर र दुई हजार दुई मिटरको भादा–गुलरिया खण्ड सडक निर्माण गर्न गजुरमुखीसँग २०७४ चैत्र २९ गते सम्झौता गरिएको थियो । २०७७ मा सक्नु पर्ने यो सडक खण्ड तीन पटक म्याद थप्दा पनि सन्तोषजनक नभएपछि सम्झौता तोड्ने निर्णय गरेको सडक डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख निरज शाक्यले बताउनुभयो ।
यी दुई खण्डको सडक निर्माण गर्न २१ करोड ४९ लाखमा सम्झौता गरिएको थियो । पटक पटक म्याद थप्दा पनि काम नगर्ने ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्न खजुराका स्थानीयले दबाब दिदै आएका छन् । सडक निर्माण सम्पन्न गराउनका लागि खजुरावासीले पटक–पटक सडक जाम गर्दै आन्दोलन गरेका थिए ।