प्रेस युनियनको नेतृत्वमा प्रियास्मृति र चेतकान्तको दावी
नेपालगञ्ज – प्रेस युनियन, बाँकेमा नयाँ नेतृत्वका लागि प्रियास्मृति ढकाल र चेतकान्त भट्टराईले दावी गरेका छन् ।
युनियनको १२ औं अधिवेशन तथा साधारण सभामा सर्वसम्मतको प्रयास भएपनि ढकाल र भट्टराईको दावीले अधिवेशन चुनाव उन्मुख भएको छ । दुवै जना प्यानल बनाएर निर्वाचनतर्फ अघि बढेका छन् ।
यसैबीच, अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले प्रेस युनियनका कार्यकर्ताले पार्टीका नेतालाई खुइल्याउने काम नगर्न आग्रह गरेका छन् ।
सहमहामन्त्री राठौरले ‘प्रेस युनियनका कार्यकर्ताले पार्टीका नेताका विरुद्धमा जथाभावी लेख्न पाइदैन भने ।’ उनले प्रेस युनियनका कार्यकर्तालाई पत्रकारिता निष्पक्ष गर्न र पार्टीलाई बलियो बनाउने दायित्व पनि लिन आग्रह गरे । सहमहामन्त्री राठौरले नेपाली कांग्रेस बलियो हुनु भनेको लोकतन्त्र बलियो हुनु हो भने ।
प्रेस युनियनका अध्यक्ष शिव लम्सालले प्रेस युनियनलाई पत्रकारिता गर्नेको संगठन बनाउन लागि परेको बताए ।
प्रेस युनियन, बाँकेका अध्यक्ष अर्जुन ओलीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस, बाँकेका सभापति नारायण गौडेल, युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, महासचिव दिलिप पौडेल, कोषाध्यक्ष माधव धिताल, लुम्बिनी प्रदेश महासचिव नविन गिरी, अकोरावका अध्यक्ष अर्जुन गिरी, प्रदेश सांसद माया पुन, नेपाल पत्रकार महासंघ, बाँकेका कार्यवाहक अध्यक्ष संगीन शर्मा, प्रेस चौतारीका जिल्ला अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टरका जिल्ला अध्यक्ष राजेश आचार्य, समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष लोकराज शर्मालगायतले शुभकामना दिएका थिए ।
विभिन्न व्यक्ति सम्मानित
प्रेस युनियन, बाँकेले अधिवेशनको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।
युनियनले पाँच जना पत्रकारलाई नगदसहित र अरुलाई कदरपत्रले सम्मान गरेको छ । २५ हजार ५ सय ५५ रुपैयाको सुशील कोइराला राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाललाई दिइएको छ ।
सम्मान ग्रहण गर्दै दाहालले सुशील कोइरालाको मृत्यु स्वभाविक नरहेकाले छानबिनको माग गर्नुपर्ने बताए ।
२१ हजार १ सय ११ रुपैयाको पन्नालाल गुप्त स्मृति पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका विजय बर्मालाई दिएको छ । जगन्नाथ गौडेल स्मृति पुरस्कार लोकमाया सुवेदी, सिर्जनशील पत्रकारिता पुरस्कार गजे थापामगर र उदयमान पत्रकारिता पुरस्कार कृष्ण अधिकारीलाई दिइएको छ । अग्रज सम्मान र युनियनका पूर्व अध्यक्षलाई पनि सम्मान गरिएकाे थियाे ।