बढाइयो स्कूलको गर्मी बिदा
नेपालगञ्ज – अत्याधिक गर्मीका कारण नेपालगञ्जका विद्यालयमा गर्मी बिदा बढाइएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले जेठ २१ देखि २३ गतेसम्म गर्मी बिदा दिएकोमा यसमा थप तीन दिन बढाइएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख उपसचिव गोर्खबहादुर थापाले २६ गते शुक्रबारसम्म बिदा बढाइएको जानकारी दिनुभयो । महाशाखाले बर्खे बिदामा कट्टा हुने गरी गर्मी बिदा दिन र २८ गते आइतबारदेखि विहानी सत्रमा विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।
नेपालगञ्जसँगै कोहलपुर नगरपालिका, खजुरा गाउँपालिकाले पनि गर्मी बिदा दिएका छन् । अत्याधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले गर्मी बिदा दिइएको पालिकाहरुले जनाएका छन् ।
नेपालगञ्जमा यतिबेला ४० डिग्री माथि तापक्रम रहेको छ । यो गर्मीमा कतिपय स्कूलमा टीनका छाना छन् ।
यस क्षेत्रमा पानी पर्न सकेको छैन । पानी नपर्दा तापक्रम बढिरहेको छ । अत्याधिक गर्मीले नेपालगञ्ज बजार नै दिउँसोमा सुनसान देखिएको छ । स्वास्थयकर्मीले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन सल्लाह दिने गरेका छन् । कतिपय पालिकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन माइकिङ नै गरेका छन् । नेपालगञ्जलगायत आसपासमा दिउँसोमा तातो हावा (लु) चल्ने गरेको छ ।