राप्तीसाेनारीमा अागामी वर्षकाे कार्यक्रमका लागि सुझाव संकलन


राप्तीसोनारी – बाँकेको राप्ती सोनारी गाउँपालिकाले आर्थिक वर्ष २०८०-८१ मा निर्माण हुने नीति, बजेट र कार्यक्रमका लागि सुझाव संकलन गरेकाे छ ।
पूर्वमन्त्री प्रेमबहादुर भण्डारीसहित संविधान सभा सदस्य प्रदिपकुमार थारु, राप्ती सोनारीका पूर्वअध्यक्ष लाहुराम थारु, पूर्वउपाधयक्ष धनीकुमारी खत्रीसहित पालिका अध्यक्ष तप्तबहादुर पौडेल, उपाध्यक्ष मनिषासिंह थारु, प्रमुख प्रशासकिय अधिकृत ओमप्रकाश देवकोटा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरुलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा सुझाव संकलन गरिएकाे छ ।
कार्यक्रममा प्रशासकिय भवनको स्थान एकीन, सिक्टा सिँचाइ आयोजनाको नहर विस्तारका क्रममा उत्पन्न विवाद समाधानलगायतका विषयमा छलफल प्रस्ताव भए पनि अधिकांशले कृषि र शिक्षालाई प्राथमिकता दिनुपर्ने सुझाव   दिए ।
पूर्वमन्त्री भण्डारीले राप्ती सोनारीलाई आत्मनिर्भर उन्मुख बनाउनु पर्ने सुझाव दिँदै सिक्टामा भएको लगानी अनुसारको प्रतिफल प्राप्तका लागि पालिकाले योजना बनाउनु पर्ने बताए ।
उनले अनुगमन र प्रभाव मूल्यांकन गर्न सरोकारवाला निकायहरुको दायित्व रहेको बताउँदै विकासका योजना उत्पादनमुखी हुनु पर्ने, शिक्षामा आवश्यकता अनुसार जनशक्ति हुनुपर्ने, रोजगारी सृजना गर्न लगानी गर्नुपर्ने सुभाव दिए ।
संविधान सभा सदस्य प्रदिपकुमार थारुले पनि राप्ती सोनारीले आगामी वर्षको बजेट तथा नीति कार्यक्रममा कृषिलाई प्राथमिकता दिनुपर्ने बताउँदै किसानलाई आवश्यक पर्ने जल, मल र बीउको आवश्यकतालाई पालिकाले मध्यनजर गर्नुपर्ने बताए । थारुले सिक्टा शाखा नहरको व्यवस्थापन हुनुपर्ने, कृषि अनुदानको वितरण न्यायिक हुनुपर्ने, पशुचौपाया नियन्त्रण गर्नुपर्ने, भौतिक पूर्वाधारको विकास गर्नुपर्ने, औषधि नियमित र व्यवस्थित हुनु पर्नेमा जोड दिए ।
उनले राप्ती सोनारीले नदीको आय ठेक्का व्यवस्थापनमा ध्यान दिनुपर्ने, लक्षित वर्ग कार्यक्रम वैज्ञानिक गर्नु पर्ने र प्राविधिक शिक्षामा पालिकाले जोड दिनुपर्ने सुझाव कार्यक्रममा राखे ।
पालिकाका पूर्वअध्यक्ष लाहुराम थारुले विद्यालय समायोजन गर्दा विद्यमान अवस्थाको लेखाजोखा गर्नु पर्ने सुझाव दिए ।उनले माध्यमिक विद्यालयमा शिक्षकको कमी रहेको, विद्यालयमा विद्यार्थीको चापका कारण शिक्षण सिकाईमा कमी आएको, खानेपानीसम्बन्धी सरोकारवालासँग समन्वय गर्नु पर्ने, नीतिगत निर्णय गर्नु पर्ने, बीउ ग्रेडिङका लागि अनुदान उपलब्ध गराउनु पर्ने, जग्गाको मुआब्जा प्रचलित बजार दररेट अनुसार हुनु पर्ने र प्रशासकिय भवन यथावत जस्ता सुझाव दिए ।
यसका अलवा कार्यक्रममा सहभागीले पालिकामा सन्तुलित विकास गर्नु पर्नेमा जोड दिँदै विद्यालयको शिक्षा पश्चात रोजगारको सुनिश्चित हुनु पर्ने, विपद व्यवस्थापन तथा तटबन्धनमा ध्यान दिनु पर्ने, कृषि गुरु योजना तयार गर्नु पर्ने, पालिकालाई नगर उन्मुख बनाउनु पर्नेमा जोड दिए ।
गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले आर्थिक वर्ष २०८०-०८१ मा गाउँपालिकाले उत्पादकमुलक र उद्यमशिलतामा जोडदिने बताइन् । उनले सरोकारवालाहरुको सुझावकै आधारमा नीति तथा कार्यक्रम तयार पार्ने र गाउँपालिकाको प्रशासन भवनलाई सबैलाई सेन्टर पर्ने ठाउँमा दिगो रुपमा सोचेर निर्माण गर्नुपर्ने बताइन् ।
आगमी वर्षका लागि कार्यपालिका, वडा कार्यालयले पनि अन्य विषयभन्दा कृषि, स्वास्थ्य र शिक्षालाई बढी जोड दिएको प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश देवकोटा बताए ।
‘यो वर्ष कार्यपालिकाले पनि कृषि, स्वास्थ्य र शिक्षालाई बढी जोड दिइएको छ । वडाहरुबाट आएका सुझावमा पनि सोही किसिमका कुराहरुलाई बढी प्राथमिकता दिइएको छ,’ देवकोटाले भने, ‘अबको बजेट तथा नीति कार्यक्रममा पूर्वाधार विकास कम प्राथमिकता दिएर गुणस्तर र आत्मनिर्भरका कुरा बढी प्राथमिकतामा पर्नेछन् ।’
गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले राप्तीसोनारीलाई समृद्ध बनाउनको निमित्त सरोकारवालाहरुको सुझाव र सहयोगको आवश्यक रहेको बताए ।
पौडेलले सरोकारवालाहरुको सल्लाह र सुझावकै आधारमा आर्थिक वर्ष २०८०-०८१ मा निर्माण हुने नीति तथा कार्यक्रम र बजेट विनियोजन हुने प्रतिवद्धता जनाए ।


error: यो सुविधा उपलब्ध छैन !