मानवसेवा आश्रमका लागि घर–घरबाट मुठ्ठीदान संकलन
नेपालगञ्ज – मानवसेवा आश्रमले नेपालगञ्जमा पहिलो पटक मुठ्ठीदान संकलन अभियान शुरु गरेकाे छ । अभियान एक सातासम्म चल्ने मानवसेवा आश्रम नेपालगञ्ज बाँके शाखाका संयोजक उर्विन सापकोटाले जानकारी दिनु भयो ।
संयोजक सापकोटाका अनुसार, आइतबार धम्बोझीमा गरिएको मुठ्ठीदान सेवा सञ्चालनको लागि गरिएको आव्हानमा नगद ११,४१५ र चामल, बिस्कुट, महिलाहरुले लगाउने केही थान कपडा र चप्पल लगायतका सामाग्रीहरु स्वतःस्फुर्त आश्रमले प्राप्त गरेको थियो ।
मुठ्ठीदान संकलन गर्नको लागि मानवसेवा आश्रमका युवा स्वयंसेवीहरु चिरन्जीवी बुढा, दिपिका देवकोटा, सुभाष सिजापति, प्रकृति थापा, अस्मिता देउवा, साहिल खान र छत्र सुनारको टोलीले सघाएको थियो ।
संयोजक सापकोटाका अनुसार, देशको आर्थिक अवस्था र स्थानीयलाई नेपालगञ्ज शाखाको सेवाको बारेमा जानकारी कम भएकोले होला सहयोगी दाताहरु आश्रममा आउने क्रम घट्दो छ । जसको सिधा असर आश्रितहरुमा नपरोस् भनेर स्थापना कालदेखि नै दातृ निकाय वा दाताहरुको सर्त सहितको सहयोग स्वीकार नगर्ने आदर्शलाई आत्मसात गर्दै सेवा सञ्चालन गर्न नेपालगञ्जका घर–घर, पसल–पसलमा मुठ्ठीदान संकलन गर्न शुरु गरिएको छ ।
मानवता प्रवद्र्धन महाअभियानको रुपमा स्थापना र सञ्चालन गरिएको मानव सेवा आश्रममा सडक पेटी र सार्वजनिक स्थलहरुमा अत्यन्तै कष्टपूर्ण, दयनीय एवं पीडादायी जीवनयापन गर्न विवश सहयोगापेक्षी (बेवारिसे, अशक्त, असहाय, अनाथ, अभिभावक विहीन, शारीरिक तथा मानसिक रुपमा कमजोर) सडक आश्रित मानव आश्रित छन् ।
मानव सेवा आश्रम २०६९ साल भाद्र १३ गतेदेखि उद्धार, उपचार, परामर्श एवं पारिवारिक पुनर्मिलन र पुनर्मिलन हुन नसकेकाहरुको लौरी स्वरुपको सहारा बनेर लालनपालन, औषधोपचार र संरक्षण गर्दै आइरहेको विशुद्ध परोपकारी सामाजिक संस्था हो । अहिले संस्थाको १९ जिल्लामा २३ शाखा तथा केन्द्र भएर मानवीय सेवा सञ्चालन गर्दै आएको छ ।
सिङ्गो नेपाल राष्ट्रलाई नै सहयोगापेक्षी सडक आश्रित मानव मुक्त राष्ट्र निर्माण गर्ने अभिष्ट राखी मानवसेवा आश्रमले सडक मानवहरुको मानवोचित व्यवस्थापनका निम्ति २०७९ वैशाख १ गतेबाट आदर्शनगर, सुर्खेत रोड नेपालगञ्ज उप–महानगरपालिकाको वडा नं. १० मा भाडामा लिएको घरमा सेवा सञ्चालन गरेको छ ।
अहिले मानव सेवा आश्रम नेपालगञ्ज शाखामा ५१ जना बेसहाराहरु आश्रममा आश्रित छन्, जसमा १ वर्ष कि बालिकादेखि ८० वर्ष भन्दा माथि उमेरका ५ जना महिला, ३ जना बालबालिका र ४५ जना पुरुष आश्रित छन् । ती मध्ये ४० जना मनोसामाजिक समस्याबाट ग्रसित छन् भने उनीहरुले नियमित औषधि सेवन पनि गर्दै आइरहेका छन् । मानवसेवा आश्रमको मुख्य आम्दानीको स्रोत भनेको नै मुठ्ठीदान नै हो । आश्रमले स्थापनाको समयदेख नै दातृ निकायहरुको सर्त सहितको सहयोग स्वीकार नगर्ने आदर्शलाई आत्मसात गर्दै सेवा सञ्चालन गर्दै आइरहेको छ ।
सहयोगी दाताहरुले जन्मदिन, विवाह वर्षगाँठ, संस्थाको वार्षिकोत्सव, ब्रतबन्ध, छोरा छोरीको न्वारान, अन्नप्राशन, विभिन्न चाँड पर्वहरुमा खुशियाली मनाउनुका साथै पितृहरुको सम्झना भोजन गराउन र स्वेच्छिक सहयोग गर्न आउनु हुने परोपकारी दाताहरुको सहयोगमा संस्था सञ्चालन भइरहेको छ ।
आश्रमको सेवामा २४ घण्टा अभियन्ता, साधकसाधिका भने स्वयंसेवकको रुपमा समर्पित छन् । केही प्राविधिक कर्मचारीहरु, स्वास्थ्यकर्मी, सुरक्षा गार्डहरु भने आवश्यकताको आधारमा न्यूनतम पारिश्रमिक लिएर २४ घण्टा नै आश्रमको सेवामा रहनु भएको छ संयोजक सापकोटाले जानकारी दिनु भयो ।