भत्किएको जब्दीघाट पुलमा सांसद गौतमको अनसन, बन्ला त अब पुल ?

नेपालगञ्ज – बर्दियाको बारबर्दिया नगरपालिकालाई सदरमुकाम गुलरिया जोड्ने बबई नदीको जब्दीघाट पुल सम्पन्न नहुँदै भत्कियो । पप्पु कन्ट्रक्सनले बनाएको यो पुल २०७४ सालमै भत्किएपछि बारबर्दियाका जनताले सदरमुकाम पुग्न सास्ती खेपिरहेका छन् ।

अहिले जब्दीघाटमा डुंगा सञ्चालन गर्न अनुमति पाएका ठेकेदारले काठको पुल हालेका छन् । जहाँ एक जना मान्छे तरेको दश रुपैया लाग्छ । साइकल र मान्छे तर्दा २० रुपैया लाग्छ । मोटरसाइकलमा एक जनामात्रै छ भने २५ रुपैया र दुई जना छ भने ३५ रुपैया लाग्छ । अटोरिक्सा तारेको ५० रुपैया लिने गरिन्छ ।

बारबर्दियाको मुख्य बजार जयनगरबाट जिल्लाको सदरमुकाम गुलरिया जानका लागि गाडीको बाटो छैन । जयनगर–गुलरियाको १३ किलोमिटर दुरीलाई पार गर्न गाडी चालकलाई बाँसगढी नगरपालिका वा मधुवन भएर जानु पर्छ ।

जब्दीघाटको पुल भाँसिएपछि यसले देशभर चर्चा पाएको थियो । यही जब्दीघाट पुलमुनी सांसद सञ्जय गौतमले शनिबार बेलुकादेखि आमरण अनसन थालेका छन् । बर्दिया क्षेत्र नं. १ बाट बामदेव गौतमलाई हराएर चर्चामा आएका सञ्जय गएको चुनावमा यही क्षेत्रबाट निर्वाचित भए । चुनावको बेलामा गौतमले एक महिनाभित्र जब्दीघाटमा बैकल्पिक बाटोको व्यवस्था गर्ने प्रतिबद्धता गरेका थिए । उनले बेलिब्रिजको कुरा गरेका थिए । अहिलेसम्म यो पूरा भएन । गौतमले सदनमा जब्दीघाट पुलको कुरा उठाएका पनि हुन्, त्यसको सुनुवाई भएन ।

सांसद गौतमले सदन र सडकबाट माग उठाएपनि पूरा नभएपछि बाध्य भएर आमरण अनसनमा बसेको बताएका छन् । गौतमले विभिन्न १५ बुँदे माग अघि सारेका छन् । त्यसको एक नम्बर बुँदामा जब्दीघाट पुलकै कुरा छ, जहाँ उनी अनसन बसिरहेका छन् ।

गौतमले तटबन्ध, सिंचाई, विगतका बाढीपीडितलाई राहत, मूर्तिहा नाका सञ्चालन, बेमौसमी बाढीले क्षति व्यहोरेका किसानलाई राहत, मल बिउ, भ्रष्टाचारीलाई कारबाहीलगायतका माग अघि सारेका छन् ।

एकथरीले भने चुनावका बेलामा आफैले गरेको बाचा पूरा नभएपछि गौतमले अनसनको नाटक गरेको आरोप लगाएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !