ज्योति स्पोर्टस क्लब (ए) र भेरी रकर्सको सहज जित

नेपालगञ्ज – ज्योति स्पोर्टस एकेडेमी (ए) र भेरी रकर्सको पुरुषको टिमले शुक्रबार नेपालगञ्जमा मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेका छन् ।

मंगलप्रसाद उच्च माविको खेल मैदानमा भएको पहिलो खेलमा ज्योति स्पोर्टसले फाल्कोन स्पोर्टस क्लबलाई १० विकेटले हरायो । अर्को खेलमा भेरी रकर्सले चन्द्रमेवालाल स्कुललाई ७ विकेट पराजित गरेको छ ।

ज्योति विरुद्धको खेलमा टस जितेर ब्याटिङ गरेको फाल्कोन खराब सुरुआत गरेको थियो । फाल्कोनले १२.१ ओभरमा ३० रन जोड्दा अलआउट हुन पुगेको थियो । फाल्कोनका शारुख खानले ११ रन बाहेक अन्यले दोहोरो रन जोडन सकेनन् ।

प्लेयर अफ द म्याच घोषित सिद्धान्तले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिन सफल भएका थिए । सुनिल सुनार र रबिस बर्माले २–२ विकेट लिए । प्लेयर अफ द म्याच सिद्धान्तलाई लुम्बिनी प्रदेश सभा सदस्य माया पुनले पुरस्कृत गरिन् ।

३१ रनको झिनो विजय लक्ष्य पाएको ज्योतिले २.५ ओभरमा बिना विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । टोलीका लागि अविजित रहँदै प्रनिल थापा मगरले २९ रन र क्षितिज थापा मगरले ३ रन बनाए ।

अर्को खेलमा टस जितेर ब्याटिङ गरेको चन्द्रमेवालाल स्कुल १९.२ ओभरमा ८७ रन बनाएर अलआउट भएको थियो । चन्द्रमेवालालका लागि अमिर सिंहले १७ रन, शाहरुख रजा राईले १७ रन र ओपनर बिपिन साहुले १२ रनको योगदान गरे ।

वलिङ तर्फ भेरी रकर्सका साहिद अन्सारी र रकिन राना मगरले २–२ विकेट लिए ।
जवाफमा भेरी रकर्सले १० ओभरमा ३ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । रकर्सका लागि सोम शर्माले अविजित २१ रन, संगम कँडेलले अविजित १७ रन र ओपनर समसुद्धिन अन्सारीले १२ रनको योगदान गरे । चन्द्रमेवालालका वलर अलिफ राजा राईले ३ विकेट
लिए ।

खेलमा भेरी रकर्सका साहिद अन्सारी प्लेयर अफ द म्याचबाट पुरस्कृत भए । अन्सारीलाई लुम्बिनी प्रदेश सभा सदस्य मीना बोहरा सिद्धिकीले पुरस्कार प्रदान गरिन् ।


error: यो सुविधा उपलब्ध छैन !