दल बाहिरबाट राष्ट्रपति हुने संभावना छैन : कांग्रेस प्रवक्ता
नेपालगञ्ज – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक दलबाहिरबाट राष्ट्रपति हुने संभावना नरहेको बताउनु भएको छ ।
प्रेस युनियन, बाँकेले बिहीबार विहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता डा. महतले राष्ट्रपति दलभित्रबाट नै हुने र राष्ट्रपति भइसकेपछि दल भन्दा माथि उठेर संविधानको पक्षमा काम गर्ने व्यक्तिलाई छानिने बताउनुभयो ।
एक प्रश्नमा डा. महतले बाबुराम भट्टराईको राष्ट्रपति बन्ने संभावना नरहेको बताउनुभयो । उहाँले कानूनी शासन र संविधानको रक्षाका लागि नेपाली कांग्रेसलाई राष्ट्रपति दिनु पर्ने बताउनुभयो । उहाँले कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेललगायत राष्ट्रपतिको आकांक्षी रहेको खुलाउनुभयो । डा. महतले पार्टी सभापति शेरबहादुर देउवाले राष्ट्रपति हुन इच्छा नदेखाएको प्रष्ट पार्नुभयो ।
प्रवक्ता डा. महतले तत्कालिन परिस्थितिमा सरकारलाई विश्वासको मत दिएपनि आफूहरु सरकार निर्माण र मन्त्रीपरिषद्मा सहभागी नभएकाले प्रतिपक्षकै भूमिकामा रहने बताउनुभयो । कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनमा टुट्नुमा मूल्यांकनमा कमी कमजोरी भएको खुलाउनुभयो ।