टिकटकमा लभ परेकी १५ वर्षीयाको जोखिमपूर्ण यात्रा

नेपालगञ्ज – १५ वर्षीया बालिकाले २३ वर्षीय युवकको ‘टिकटक’ भिडियो हेरिन् । टिकटक भिडियोमा बालिकाले कमेन्ट र लायक गर्न थालिन् । कमेन्ट र लाइकबाट शुरु भएको उनीहरुको संवाद कुराकानीमा परिणत भयो ।

फोनैबाट दुवै जना गहिरो प्रेममा परे । यतिसम्मकी बालिका कुराकानी भएकै आधार र विश्वासमा परेर घरपरिवार छोडेर युवकलाई भेट्न आइन् । महिना दिनमै बालिका र युवक एक अर्का बिना बाँच्न नसक्ने भए ।

बालिका मोरङ र युवक बाँके जिल्लाका हुन् । दुवै जनाको भेट भयो । युवकले भारतमा गएर विवाह गर्ने बतायो । घरपरिवार छोडेर युवकको शरणमा आइपुगेकी बालिकाले नाइ भन्ने कुरै भएन । दुवै जना नेपालगञ्ज नाका भएर भारत जान हिडे । नेपालगञ्ज नाकाको दशगजासँगै जोडिएको जमुनाहामा बस्ने माइती नेपालको टोलीले दुवै जनालाई सोधपुछ ग¥यो । दुवै जनाले माया प्रेम रहेको र भारत गएर विवाह गर्न हिडेको बताए ।

१५ वर्षीया बालिका टिकटकमार्फत् चिनजान भएका व्यक्तिसँग विवाह गर्न भन्दै भारत जान हिडेपछि माइती नेपालले छोड्ने कुरै भएन । दुवै जनाको अभिभावक बोलाएर जिम्मा लगाएर पठाइयो ।

जुम्लाका ३२ वर्षीय युवक र रुकुमकी १९ वर्षीया किशोरीको भेट पनि टिकटकमार्फत् नै भयो । टिकटक हेर्दाहेर्दै प्रोफाइलमा गएर नम्बर साटासाट भयो । कुराकानी शुरु भएको १५ दिनमै दुवै जना एक अर्कासँग छुटिन नसक्ने गरी गहिरो प्रेममा परे । श्रीमती र छोराछोरी भएका युवकलाई सबथोक सम्झेर किशोरी घरबाट हिडिन् ।

भारतमा गएर विवाह गर्ने भन्दै दुवै जना नेपालगञ्ज नाकासम्म आइपुगे । दशगजा नजिकको जमुनाहाबाट माइती नेपालको टोलीले उनीहरुलाई सोधपुछ ग¥यो । १५ दिनमै लभ परेर भारत जान हिडेका दुवै जनाको यात्रा जोखिमपूर्ण थियो । प्रहरीसँग समन्वय गरेर दुवै जनालाई घरपरिवारको जिम्मा लगाइयो ।

यी दुई वटा प्रतिनिधिमूलक घटना थिए । विकासँगै भित्रिएको प्रविधिको दुरुपयोग गरेर जोखिमपूर्ण यात्रा निस्किनेको संख्या उल्लेख्नीय रहेको माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाको भनाई छ ।

मानव बेचबिखन तथा ओसारपसारको अपराधमा लागेका दलालले पनि फेसबुक, टिकटक, इमोबाट बालिका, किशोरीलाई फसाएर बेच्नेसम्मको काम गरिरहेको माइती नेपाल, नेपालगञ्जमा परेको खोजतलासको निवेदनले पुष्टि गरेको छ ।

माइती नेपाल, नेपालगञ्जमा सन् २०२२ मा ६ सय ९३ वटा खोजतलास तथा उद्धारको निवेदन परेको छ । घरपरिवारमा सल्लाह नगरी हिडेका, कतिपय सल्लाह गरेर गएपनि पछि सम्पर्कमा नआएका व्यक्तिका आफन्तीले खोजतलास तथा उद्धारका लागि निवेदन दिने गर्दछन् । यसमध्येमा २ सय ४९ जना फेला परेका छन् । जोखिमपूर्ण यात्रामा रहेका र खोजतलासका निवेदन परेकोमा ३० प्रतिशत प्रविधिको दुरुपयोगबाट जोडिएको माइती नेपाल, नेपालगञ्जका संयोजक कोइरालाको भनाई छ ।

विवाह, रोजगारी, शिक्षाका नाममा मानव बेचबिखन तथा ओसारपसार भइरहेका छन् । घरपरिवारसँग सल्लाह नगरी जोखिमपूर्ण यात्रामा निस्केका ५ सय २९ जनालाई प्रहरीको समन्वयमा माइती नेपालले नेपालगञ्ज नाकाबाट फिर्ता गरेको छ ।

कोइरालाका अनुसार, पछिल्लो दिनमा बाँके, बर्दिया, दाङमात्रै नभएर सुर्खेत, दैलेख, जाजरकोट, रुकुम, सल्यानबाट समेत जोखिमपूर्ण यात्रामा निस्किने बढेका छन् । यी जिल्लाबाट समेत उद्धार र खोजतलासका निवेदन परेका छन् ।

भारत र भारत हुँदै तेस्रो मुलुकमा पुगेकाहरु धेरैजसो जोखिममा परेका छन् । भारत तथा तेस्रो मुलुकमा जोखिममा परेकाको उद्धार गर्ने संयन्त्र भने छैन । राज्यस्तरबाट भारत तथा तेस्रो मुलुकमा जोखिममा परेका व्यक्तिको उद्धार गर्ने संयन्त्र हुनुपर्ने कोइरालाको माग छ । कोइरालाले भारत हुँदै तेस्रो मुलुक जाने महिलाको हकमा भारतीय विमानस्थलमा एउटा डेस्क राखेर सोधपुछ हुनुपर्ने बताउनुभयो । यस विषयमा नेपाल र भारतका अधिकारी बीचमा कुराकानी भएपनि काम हुन सकेको छैन ।


error: यो सुविधा उपलब्ध छैन !