नेपालगञ्जमा व्यापारीको आन्दोलन

नेपालगञ्ज – राष्ट्र बैंकको नीतिलाई अव्यवहारिक भन्दै नेपालगञ्जका व्यापारीले दोस्रो चरणको आन्दोलन थालेका छन् ।

राष्ट्र बैंकको अव्यवहारिक नीतिले व्यवसाय ध्वस्त भएको भन्दै व्यापारीले नेपालगञ्जमा प्रदर्शन गर्नुका साथै राष्ट्र बैंक अगाडि धर्ना दिएका छन् । कारोबारका आधारमा कर्जा दिने प्रावधान संशोधन गर्नुपर्ने र बैंकको चर्को ब्याजदरलाई नियन्त्रण गर्नुपर्ने माग राखेका छन् ।

त्रिभुवनचोकस्थित नेपालगञ्ज उद्योग बाणिज्य संघको कार्यालय अगाडिबाट निस्केको व्यापारीको जुलुश बजार परिक्रमा पछि राष्ट्र बैंक अगाडि पुगेर धर्नामा परिणत भएको थियो । व्यापारीले कालो पट्टी बाँध्नुका साथै विभिन्न नारा लेखेका प्लेकार्ड बोकेका थिए ।

नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले ८ प्रतिशत रहेको ब्याज १८ प्रतिशतसम्म पुग्दा व्यवसाय ध्वस्त हुनुका साथै व्यापारी मर्ने अवस्थामा पुगेकाले अर्थतन्त्रलाई बचाउनका लागि आन्दोलन थालेको बताउनुभयो ।
व्यापारीले राष्ट्र बैंक अगाडि नारा जुलुश गर्नुका साथै केही समय धर्ना दिएका थिए ।


error: यो सुविधा उपलब्ध छैन !