विद्युतको २५ वर्षे योजनाको सर्वे : संरचना थप्ने, उत्पादन बढाउने

नेपालगञ्ज – बाँके, बर्दिया र दाङ जिल्लामा उद्योग, कलकारखाना बढ्दो क्रममा छ । लुम्बिनी प्रदेशका यी सुदूरपश्चिमका जिल्लामा विद्युत र भोल्टेजको समस्या सधैं हुने गर्दछ ।

विभिन्न उद्योग, कलकारखाना भएका यी जिल्लाहरुमा टनकपुर, बुटवल र भारतको नानपाराबाट विद्युत ल्याउने गरिएको छ । ट्रान्समिसन लाइनको अन्तिम विन्दु भएकाले यहाँ कम भोल्टेज आउने गर्दछ । न यहाँ पावर हाउस नै छ न त सोलार प्लान्ट नै । जसले गर्दा गर्मीमा सधैं नै विद्युत र भोल्टेजको समस्या हुने गर्दछ ।

विद्युत र भोल्टेजको यो समस्यालाई समाधान गर्न हालै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको टोलीले बाँकेको संभाब्यता अध्ययन गरेर फर्किएको छ । बाँकेलगायत यस क्षेत्रको विद्युतको समस्यालाई समाधान गर्नका लागि २५ वर्षे योजना बनाउने क्रममा टोलीले पहिलो चरणमा सर्वे गरेर गएको छ ।

नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख सुरज गौतमले ८ सय मेघावाटको लोड बढ्दा पनि धान्ने गरी संरचनाहरु बनाउन सर्वे भएको जानकारी दिनुभयो । डिभिजन कार्यालयले लुम्बिनीका ६ जिल्लाहरु रुकुमपूर्व, रोल्पा, प्यूठान, दाङ, बाँके र बर्दियालाई हेर्ने गर्दछ । यी ६ जिल्लामा १० वटा वितरण केन्द्र छन् । गर्मीमा एक सय ९५ मेघावाट लोड छ । सवस्टेशनको क्षमता २ सय १२ मेघावाट छ ।

२५ वर्षे योजनालाई चरण–चरणमा छुट्याइएको छ । २५ वर्षभित्रमा ८ सय मेघावटको संरचना बनाउने भनिएको छ । सबस्टेशन थप्ने, बाँकेको नरैनापुर र खजुरामा सोलार पावर प्लान्ट बनाउने, भेरी बबई डाइभर्सनबाट ४० मेघावट विद्युत उत्पादन हुनेछ । एक÷डेढ वर्षमा सोलार प्लान्ट बनाउने, बाँके र बर्दियामा ३३ बाई ११ लाई १३२ बाई ३३ सवस्टेशन बनाउने सर्वे भएको छ । डिभिजन प्रमुख गौतमले २५ वर्षको विद्युतको माग पूरा गर्ने गरी योजना बनाएको बताउनुभयो ।

विद्युत कार्यालय, नेपालगञ्ज वितरण केन्द्रका प्रमुख ईन्जिनियर दिवाकर प्याकुरेलले टनकपुर, कुलेखानी र नानपाराको १३२ केभीको रिङलाइन बनाउने योजनामा रहेको बताउनुभयो । नेपालगञ्ज वितरण केन्द्रमा वर्षेनी सरदर १० मेघावाट विद्युत बढी माग हुने गर्दछ । गर्मीमा अति गर्मी हुने र उद्योगहरु धेरै रहेकाले यो शहरमा विद्युतको माग बढी नै छ ।

वितरण केन्द्रले गर्मीलाई लक्षित गरेर अहिलेदेखि नै नानपाराको लाइनलाई अपटेड गरेर ५० मेघावाट क्षमता बनाउन लागि परेको छ । आगार्मी गर्मी सिजनमा नेपालगञ्जमा ५० मेघावाटको माग हुने आकलन गरिएको छ । गतवर्ष ४० मेघावाटको माग थियो । यी मागलाई लक्षित गरेर खजुरामा २० मेघावटको सोलार पावर प्लान्ट बनाइरहेको इन्जिनियर प्याकुरेलले जानकारी दिनुभयो । नेपालगञ्जमा भारतको नानपाराबाट दश मेघावट आइरहेको छ भने अरु कोहलपुर हुँदै नेपाली लाइनले धानेको छ । यहाँ माग र क्षमता बराबरीजस्तै भइरहेको छ । कहि कतै डिस्टर्व हुने वित्तिकै समस्या हुने गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !