पुस ४ गते डुडुवाको गाउँसभा गर्ने सहमति, ताला खोलियो
डुडुवा – पाँच महिनादेखि अवरुद्ध डुडुवा गाउँपलिकाको सेवासुविधा अब खुल्ने भएको छ । यही पुस ४ गते सोमबार दिउंसो २ बजे गाउँसभा बस्ने सहमति भएको छ ।
कार्यपालिकाकाे मंगलबार बसेको बैठकले पुस ४ गते गाउँसभा बस्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार, गाउँसभामा नयाँ आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट ल्याइनेछ, त्यसका लागि स्रोत अनुमान तथा बजेट अनुमान समिति, राजश्व परामर्श समिति र विषयगत समितिको बैठक बसिसकेको छ । अब बजेटको तयारी गरिने छ ।
वडा समितिले पुस १ गतेसम्म वडागत योजनाहरु कार्यपालिकाको बैठकमा पेश गर्ने छन र त्यसैको आधारमा योजना तर्जुमा गरिने प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताउनुभयो ।
आज बसेको कार्यपालिकाको बैठकमा विपक्षी दलले सहमति गरेपछि सभाको टुगो लागेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँले स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार विधि र प्रक्रिया बमोजिम स्थानीय तहका कार्यहरु गर्ने कानूनमा स्पष्ट व्यवस्था भएको र सोही बमोजिम गर्न खोज्दा विपक्षीको अवरोधले पालिकाको सेवा प्रभावित हुनु दुःखको कुरा भएका बताउनुभयो । आज भएको सहमति अनुसार सभा बसेमा सबै समस्या समाधान हुने उहाँको विश्वास छ ।
गाउँपालिकाको गाउँसभा नहँुदा आफुहरुको सेवासुविधा प्रभावित भएको भन्दै कर्मचारीहरुले तीनदिनदेखि कार्यालयमा तालाबन्दी गरि विरोधमा उत्रिएका थिए । गाउँसभाको मिति ताकिएपछि उनीहरुले विरोधका सम्पूर्ण कार्यक्रम स्थगित गरेको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार ४ गते सभा सम्पन्न नहुँदासम्म आन्दोलनका कार्यक्रम स्थगित गरि ताला खोलिएको छ ।
नयाँ आर्थिक वर्ष २०७९।०८०को गाउँसभा नबस्दा बजेटसमेत पास नभएर सेवाग्राहीका सबै सुविधा ठप्प भएको छ ।