कोहलपुरमा मृगौलाका विरामीले डाइलोसिस गर्न पाएनन्, ज्यान गुमाउदै विरामी

डाइलोसिस पर्खिरहेकी भागीरथी ।

नेपालगञ्ज – कोहलपुर–२, बर्दहवाका २४ वर्षीय रवि थारु साढे तीन वर्षदेखि मृगौलाका विरामी थिए । मिस्त्री काम गर्ने रविले कोहलपुरमा नियमित डाइलोसिस गर्दै आएका थिए । हप्तामा दुई पटक मंगलबार र शुक्रबार उनको डाइलोसिस हुन्थ्यो ।

नियमित डाइलोसिस भइरहदा रविलाई ठिकै थियो । कोहलपुर मेडिकल कलेजमा ठेकेदार कम्पनी बिरंग हेल्थ केयर प्रालिले सञ्चालन गरेको डाइलोसिस मेसिन नियमित चल्दा रविजस्ता ४४ जनाले सेवा लिइरहेका थिए ।

भदौ तेस्रो हप्तादेखि डाइलोसिस मेसिन बिग्रन थाल्यो । ठेकेदार कम्पनीले समयमै बनाउन छाड्यो । जेनतेन मेसिन बनिहाले पनि केमिकल जुटाउन कन्जुस्याई भयो । ठेकेदारले मृगौला पीडितको जीवनसँग खेलवाड नै गरे, अझै गरिरहेका छन् ।

तीन महिनामा रविको नियमित डाइलोसिस हुन सकेन । पछिल्लो पटक कात्तिक २५ गते शुक्रबार रविको डाइलोसिस भएको थियो । त्यसपछिको मंगलबार डाइलोसिस भएन । मंसीर १ गते राती साढे तीन बजे रविलाई गाह्रो भयो । नियमित डाइलोसिस नभएकाले प्रेसरले हान्यो । तत्काल मेडिकल कलेजमा पु¥याइयो । सिटी स्क्यान गरियो । रविको होस गयो । उनलाई भेरी अस्पताल, नेपालगञ्जमा लगियो । आइसियूमा राखियो । ६ दिनसम्म आइसियूमा राख्दा पनि रविको होस आएन । आइसियूमा राखेर उपचार भइरहदा चिकित्सकले होस आएपछि डाइलोसिस गर्ने भनेका थिए । होस नै नआई रविको मृत्यु भयो ।

रविकी श्रीमती पूजा थारुले डाइलोसिस नपाएरै श्रीमान बितेको बताउनुभयो । ‘नियमित डाइलोसिस हुँदासम्म श्रीमानको अवस्था राम्रै थियो । पछिल्लो तीन महिनादेखि मेसिनमा गड्गडी भयो । ठेकेदारले समयमै मेसिन बनाएन । मेसिन बनिहाले पनि समयमै सामान पठाएन, श्रीमती पूजाले भन्नुभयो, ठेकेदारको लापरबाहीले मेरो श्रीमानको मृत्यु भयो ।’

पूजाको ६ जनाको परिवार थियो । बटैया र ज्यालामजदुरी गरेर परिवार चल्थ्यो । घरको मुख्य मान्छे नै बिरामी भएपछि ऋणधन गरेर उपचारमा जुटे । यो साढे तीन वर्षमा १५ लाख जति खर्च भयो । अहिले ऋण लागेको छ, रवि पनि साथमा छैनन् । रविका बुवा बर्कु थारुले भन्नुभयो, ‘ऋण पनि लाग्यो, छोरा पनि गयो ।’

नियमित डाइलोसिस नभएर श्रीमान गुमाएकी पूजा ।

सरकारले साउनदेखि मृगौला पीडितलाई मासिक पाँच हजार रुपैया भत्ता दिने घोषणा गरेको थियो । रविका परिवारले त्यो पनि पाएका छैनन् । ‘बिरामी हुँदा दिनु पर्ने भत्ता मान्छे बितिसक्दा पनि आएको छैन, पूजाले भन्नुभयो, मान्छे बिते, भत्ता आएन ।’

एकै ठाउँमा नियमित डाइलोसिस गरिरहेका व्यक्तिलाई अर्को ठाउँमा जादा पालो पाउन समस्या हुने गर्दछ । जहाँ पायो, त्यहाँ यो सुविधा पनि छैन । जसले गर्दा डाइलोसिस गरिरहने ठाउँमा मेसिन बिग्रिदा गम्भीर समस्या उत्पन्न हुने गरेको छ । पूजाकी दिदीको छोरी चेची थारुको कात्तिकमा भाइटीकाको अघिल्लो दिन मृत्यु भयो । उनको पनि नियमित डाइलोसिस हुन नसक्दा मृत्यु भएको पूजाको भनाई छ ।

कोहलपुरमा पछिल्लो हप्ता दिनदेखि मेसिन ठप्पै छ । चार वटाबाट बिग्रेर दुई वटामा झरेको मेसिन त्यही पनि बिग्रिदा मृगौला पीडित जीवनमरणको दोसाँधमा पुगेका छन् ।

कैलालीका बुधराम चौधरी श्रीमती भागीरथी चौधरी मृगौलाको बिरामी भएपछि पाँच वर्षदेखि कोहलपुरमा डेरामा बसेर श्रीमतीको उपचार गराइरहेका छन् । एक हप्तादेखि मेसिन नचल्दा बिरामीमा भागीरथीलाई समस्या भएको छ । आइतबार अपरान्ही श्रीमतीलाई ह्वीलचियर राखेर बुधराम पानी निकाल्न गएका थिए । ‘भदौ १८ गतेदेखि मेसिनमा गड्गडी भएको छ । त्यसपछि मेसिन बन्ने र बिग्रिने भइरहेको छ, बुधरामले भन्नुभयो, मंसीर २ गतेपछि श्रीमतीको डाइलोसिस गर्न पाएको छैन । डाइलोसिस नहुँदा गम्भीर समस्या भइरहेको छ ।’

ठेकेदार कम्पनीले आज बन्छ, भोली बन्छ भनिरहेको छ । बुधरामले नियमित डाइलोसिस नहुँदा आफ्नै आँखा अगाडि विभिन्न ठाउँका बिरामीको मृत्यु भइरहेको बताउनुभयो । ‘भदौ यता हामीसँगै डाइलोसिस गरिरहेका ८-१० जनाको मृत्यु भइसक्यो, बुधरामले भन्नुभयो, नियमित डाइलोसिस भएको भए उनीहरु अझै बाँच्न सक्थे ।’

दाङ बिजौरीका श्रीराम चौधरीको डाइलोसिस नहुँदा शरीर सुन्निएको छ । नियमित डाइलोसिस गर्नुपर्ने भएकाले कोहलपुरमै डेरा लिएर एक्लै बसेका श्रीरामले २२ दिनदेखि डाइलोसिस नहुँदा शरीर सुन्निएर बस्न नै अप्ठेरो भएपछि घरपरिवारलाई बोलाउनु भएको छ । ‘मेरो डाइलोसिस नभएको २२ दिन भइसक्यो । पछिल्लो सात दिनदेखि नै मेसिन नै बिग्रिएर ठप्पै छ, श्रीरामले भन्नुभयो, डाइलोसिस नहुँदा बस्न र उठ्न नै समस्या छ ।’

डाइलोसिस कुरिरहेका श्रीराम ।

हेल्थ केयरका कर्मचारीले मेसिन बनाउन प्राविधिक बोलाएको जानकारी दिएका छन् । कर्मचारी रतिराम थारुले नेगेटिभ र पोजिटिभ दुवै मेसिन बिग्रिएकाले बनाउनका लागि मान्छे बोलाएको बताउनुभयो ।

ठेकेदार कम्पनीले नियमित मेसिन सञ्चालन गर्न लापरबाही गरिरहेको छ । मेसिन बिग्रिएपछि तत्काल बन्ने गरेको छैन । न त केमिकल नै समयमा पठाइन्छ । प्राविधिक आएकाले आज नै मेसिन बनेपनि केमिकल छैन । केमिकल कहिले आउने हो थाहा छैन ।

नाम नबताउने शर्तमा एक कर्मचारीले भने, कर्मचारीलाई समेत नियमित रुपमा तलव दिइएको छैन । दशैं र तिहारमा अलिअलि पैसा दिएको ठेकेदार कम्पनीले कतिपय कर्मचारीको १४ महिनादेखि हिसाव गरेको छैन ।

मृगौला पीडितले मेसिन र केमिकलको समस्याका बारेमा अस्पताल प्रशासनसँग गुहार मागेपनि त्यसको सुनुवाई भइरहेको छैन । डाइलोसिस सेवा ठेकेदारले चलाएकाले अस्पतालले बेवास्ता गरेको पीडितहरु बताउँछन् । माघदेखि अस्पतालले नै डाइलोसिस सेवा दिनेबारेमा कुरा भइरहेको पीडितलाई बताउने गरिएको छ । ठेकेदार कम्पनीले तीन करोड ८० लाख रुपैया पाउन बाँकी रहेकाले सबैको हरहिसाव हुन नसकेको भन्दै कर्मचारीलाई फकाउने गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !