आठौं धारा नेपालगञ्ज म्याराथन विजेतालाई डेढ लाख नगद
नेपालगञ्ज – आठौं धारा नेपालगञ्ज म्याराथनको विजेताले एक लाख पचास हजार नगदबाट पुरस्कृत हुने भएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट र केएल दुगड ग्रुपका प्रबन्धनिर्देशक कुमुद दुगडलाई साक्षी राख्दै आयोजक क्रियटिभ ह्याण्ड्सले बिहीबार नगद पुरस्कार घोषणा गरेको हो ।
म्याराथनको अफिसियल होटल सोल्टी वेष्टन्ड प्रिमियरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष एवं नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बिभिन्न विधाको नगद पुरस्कार घोषणा गरे ।
शीर्ष आठ धावकलाई नगदबाट पुरस्कृत गर्ने क्रममा म्याराथन(४२.१९५किमी)तर्फ दोस्रोलाई ६० हजार, तेस्रोलाई ३० हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार, छैटौंलाई ८ हजार, सातौंलाई ७ हजार र आठौंलाई ६ हजार नगद, पदक र प्रमाणपत्रले कदर गरिनेछ ।
त्यसैगरी महिला हाफ म्याराथनतर्फ प्रथमलाई ६० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई १५ हजार, चौथोलाई १० हजार, पाँचौंलाई ८ हजार, छैटौंलाई ७ हजार, सातौंलाई ६ हजार र आठौंलाई ५ हजार नगद, पदक र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।
पुरुष १० किमी खुलातर्फ प्रथमलाई ३० हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार तथा महिला ५ किमी खुलातर्फ प्रथमलाई २० हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई ७ हजार प्रदान गरिनेछ । त्यस्तै विद्यालयस्तरी ५ किलोमिटर छात्र दौडमा प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार एवं ३ किमी छात्रातर्फ प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजारले पुरस्कृत गरिनेछ । ह्वीलचेयरमा शीर्ष तीन जनालाई १०हजार, ७ हजार र ५ हजार नगदले पुरस्कृत गरिनेछ ।
कर्पोरेट रनतर्फका विजेतालाई पोखरा अन्तर्राष्ट्रिय म्याराथनको रन फर फनमा सहभागी गराइनेछ । त्यसमा हवाई टिकट सहित दुई दिनको आवास तथा भोजनको व्यवस्थापन नेपालगन्ज म्याराथनले प्रदान गर्नेछ । किड्स रन तथा वाकाथनतर्फ गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । म्याराथन पुरा गर्ने सबैलाई फिनिसर मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले जानकारी गराए ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका प्रमुख बिष्टले नेपालगञ्ज म्याराथनले सम्पूर्ण नगरवासीलाई गौरवबोध गराउन सफल भएकोमा आगामी बर्षदेखि उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘शीर्ष धावकले बर्लिनभन्दा पनि राम्रो रुट नेपालगञ्ज म्याराथनको रहेको सुन्दा निकै खुशी लाग्यो ।’ उनले भने–‘यसले अन्तर्राष्ट्रिय स्वरुप ग्रहण गर्दै पर्यटकीय क्षेत्रमा पनि ठूलो आशा जगाइदिएको छ, नेपालगञ्ज र कोहलपुर –नगरपालिकाले संरक्षकत्व लिने भइसकेका छौं, क्रमशः अन्य पालिकालाई पनि जोड्दै जानेछौं ।’
टाइटल स्पोन्सर धारा तेलको उत्पादक केएल दुगड ग्रुपका प्रबन्धनिर्देशक कुमुद दुगडले धारा तेल र म्याराथनको अन्यानोश्रीत सम्बन्ध रहेको हुँदा सहकार्य गर्दै अघि बढेको बताए । ‘हामी नेपालगञ्ज म्याराथनलाई धेरै उपल्लो उचाइमा लैजान तयार छौं, आयोजकसँग छलफल गरेर अगाडि बढ्ने वचन दिन चाहन्छु ।’
नेपालगञ्ज म्याराथनका संरक्षक सदस्य सञ्जय सिंहले एम्सको सदस्यता प्राप्त गरी सिंगो ठाउँलाई गौरव गर्ने ठाउँमा पुगेकोमा निकै खुशी लागेको चर्चा गरे ।
आठौं धारा नेपालगञ्ज म्याराथन यही मंसिर २४ गते शनिबार आयोजना हुँदैछ । नेपालगञ्ज उपमहानगरपालिका अगाडि सुरु-समापन गेट रहने आठौं धारा नेपालगञ्ज म्याराथन जानकी गाउँपालिकाको केही स्थान छुँदै कोहलपुर नगरपालिकादेखि उत्तरतर्फ बानियाभारसम्म पुगेर पुन सोही रुटमा फर्किएर बीपी चोकस्थित फिनिसिङ प्वाइन्टमा सम्पन्न हुनेछ ।