अकलले सार्वजनिक गरे प्रतिबद्धता पत्र
नेपालगञ्ज – बाँके क्षेत्र नं. २ प्रदेश खका माओवादी केन्द्रका उम्मेदवार अकलबहादुर बमले कांग्रेसले क्षेत्र नं. २ मा गठबन्धन नमानेको आरोप लगाएका छन् ।
बाँकेको क्षेत्र नं. १ र ३ मा कांग्रेस र माओवादीका बीचमा गठबन्धन अनुसार नै उम्मेदवार दिइएपनि क्षेत्र नं. २ मा कांग्रेसले प्रदेशमा समेत माओवादीलाई स्थान नदिएको उम्मेदवार बमको टिप्पणी थियो ।
प्रदेश उम्मेदवार बमले मंगलबार आफ्नो प्रतिबद्धता सार्वजनिक गर्ने क्रममा क्षेत्र नं. १ मा माओवादीले प्रतिनिधि सभा र एउटा प्रदेश तथा कांग्रेसले एउटा प्रदेश सभा, क्षेत्र नं. ३ मा कांग्रेसले प्रतिनिधि सभा र एउटा प्रदेश तथा माओवादीले एउटा प्रदेश सभामा उम्मेदवार उठाउदा क्षेत्र नं. २ मा कांग्रेसले माओवादीलाई प्रदेश सभासमेत नछोडेको बताउनुभयो ।
उम्मेदवार बमले क्षेत्र नं. २ को प्रदेश सभामा माओवादी र कांग्रेसका बीचमा मित्रवत प्रतिस्पर्धा हुने जानकारी दिनुभयो । ‘हामीले प्रतिनिधि सभामा कांग्रेसका उम्मेदवारलाई भोट हाल्छौं । प्रदेश सभामा मित्रवत प्रतिस्पर्धा हुन्छ, बलमे भन्नुभयो, क्षेत्र नं. २ मा प्रतिनिधि सभा र प्रदेश क कांग्रेस लिइसकेपछि प्रदेश ख माओवादीलाई छोड्नु पथ्र्यो । त्यसो हुन सकेन ।’
केही दिन पहिला कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत नेपालगञ्ज आउदा बमको उम्मेदवारी फिर्ता गर्न माओवादीका उच्च तहका नेताहरुसँग कुराकानी भइरहेको बताएको प्रसंगमा उम्मेदवार बमले आफूले नभई कांग्रेसका उम्मेदवारले छोड्नु पर्ने प्रतिक्रिया दिनुभयो ।
बमले मंगलबार भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र सरसफाई, उद्योग व्यापार तथा रोजगार, कृषि, सिंचाई र प्रविधि, सामाजिक सुरक्षा, धर्म र संस्कृति, युवा तथा खेलकुद, भूमि व्यवस्थापन, आवास, पर्यटन, प्रवद्र्धन र विकास, सूचना र प्रविधिक, सुशासनलाई समेटेर प्रतिबद्धतापत्र सार्वजनिक गर्नु भएको छ । बमले आफूले गर्न सक्नेमात्रै प्रतिबद्धता पत्रमा समेटेको र त्यो काम गर्न नसक्दा अर्को पटक जनताले प्रश्न गर्न सक्ने बताउनुभयो ।
मौन अवधिको मुखैमा बमले प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएको छ । यहाँका अन्य उम्मेदवारले प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेका
छन् ।