जनताको नोकर भएर काम गर्छु : सुदीपनरसिंह राणा
नेपालगञ्ज – बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर २ का नेपाली कांग्रेस सहित पाँच दलिय गठबन्धनका उम्मेदवार सुदिपनरसिंह राणाले आफुले चुनाव जितेपछि जनताको सेवक र नोकर भएर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस वडा समितिको सम्पर्क कार्यालय उद्घाटन तथा घरदैलोका क्रममा उनले यस्तो प्रतिवद्धता ब्यक्त गरेका हुन् ।
कांग्रेस नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का सभापति सितादेवी काफ्लेको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा उम्मेदवार राणाले आफु बाँके जिल्लाको लागि नयाँ अनुहार नभई लामो समयदेखि झण्डा र डण्डा लिएर मुलुकको लोकतन्त्र बचाउन, जनताको हक र अधिकारलाई स्थापना गर्नका लागि हिडेका मान्छे भएको बताए ।
बाँके, प्रदेश सभा २ (२)का उम्मेदवार सुरेन्द्रबहादुर हमालले कांग्रेसले जित्यो भने मुलुकमा विकाससँगै लोकतन्त्र सुदृढ भएर जाने बताए ।
उक्त कार्यक्रममा कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, निवर्तमान सभापति किरण कोइराला, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, पार्टीका जिल्ला सचिव सुधान्शु कोइराला, निवर्तमान उपमेयर उमा थापामगर लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।