नेपालगञ्ज म्याराथनलाई एम्सको सदस्यता

नेपालगञ्ज – नेपालगञ्ज म्याराथनले विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को सदस्यता प्राप्त गरेको छ । विश्वका आधिकारिक म्याराथन आयोजकहरुको सर्वोच्च साझा संस्था एम्समा नेपालबाट आवद्ध हुने सम्भवतः नेपालगञ्ज म्याराथन पहिलो हो ।

गत महिना मात्र एम्सबाट नेपालगञ्ज म्याराथनको रुट प्रमाणीकरण भएको थियो । नेपालगञ्ज म्याराथनअन्तर्गत ४२.१९५ किमी, २१.०९७५ किमी, १० किमी र ५ किमी गरी चार वटा दुरीको अलगअलग प्रमाणपत्र रहेको छ ।

वल्र्ड एथ्लेटिक्स अन्तर्गत म्याराथनको नियमनकारी निकाय एम्समा एक सय १५ देशका ४५३ रेश आयोजक सदस्य छन् । नेपालगञ्ज म्याराथन आयोजना एवं स्तरीयता सम्बन्धी आवश्यक कागजात सहित सम्पूर्ण प्रक्रिया पुरा गरेपछि एम्सले सदस्यता दिने निर्णय गरेको हो ।

एम्सको आवद्धतासँगै नेपालगञ्ज म्याराथन विश्वव्यापी सञ्जालभित्र प्रवेश गरेको छ । अब अन्तर्राष्ट्रिय मञ्चमा नेपालगञ्ज म्याराथनको बजारीकरण एवं प्रवद्र्धन गर्न एम्सले सघाउने नेपालगञ्ज म्याराथनका संस्थापक÷अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।

सदस्यता प्राप्त गर्न सफल भएकोमा नेपालगञ्ज म्याराथन आयोजकलाई एम्स प्रेसिडेन्ट पाका बोराओले स्वागत गरेका छन् । उनले नेपालगञ्ज म्याराथन पूर्ण सफलताको कामना गरेका छन् । ‘म तपाई. र तपाईंको टिमलाई तपाईको रेशको पूर्ण सफलताको कामना गर्दछु,’ पाका बोराओले अध्यक्ष ठकुरीलाई पत्र लेखेका छन्, ‘तपाईहरुको यात्रामा हाम्रो एसोसियसन एक महत्वपूर्ण योगदानकर्ता हुनेछ ।’

एम्समा आवद्धताले नेपालगञ्ज म्याराथन मात्र नभई समग्र नेपाली म्याराथन तथा रोड रेस धावक तथा प्राविधिक लाभान्वित हुनेछन् । नेपालगञ्ज म्याराथन आगामी दिनमा नेपाल घुम्न आउने विदेशी पर्यटक तथा अन्तर्राष्ट्रिय म्याराथनमा भाग लिन जाने नेपाली धावकका लागि प्रवेशद्वार बन्न सक्ने अध्यक्ष ठकुरीले बताए । संसारमा लामो इतिहास बोकेका प्रतिष्ठित म्याराथनमा सहभागिताका लागि निश्चित मापदण्ड तोकिएको हुन्छ, त्यसका लागि नेपालगञ्ज म्याराथन अब एउटा आधार बन्न सक्छ । त्यस्तै विदेशी पर्यटकका लागि नेपालगञ्ज म्याराथन नयाँ गन्तव्य हुने आशा गर्न सकिन्छ ।

नेपाल सरकार र विद्रोही पक्षबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शानिबार हुँदै आएको धारा नेपालगञ्ज म्याराथन यस बर्ष मंसिर २४ गते शनिबार हुनेछ ।

क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको म्याराथनका लागि २०७९ असार १५ गते देखि खेलाडी दर्ता खुला गरिएको छ । नेपालगञ्ज म्याराथनको वेभसाइटमा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिने छ । गत बर्ष झैं यस बर्ष पनि बिभिन्न दश वटा विधामा स्पर्धा समावेश गरिनेछ ।


error: यो सुविधा उपलब्ध छैन !